रामेछाप । आज ३२ औँ मदन–आश्रीत स्मृति दिवस । नेकपा एमाले रामेछापले सदरमुकाम मन्थलीमा मदन– आश्रीत स्मृतिमा कार्यक्रम आयोजना गरी मनाएको छ ।
मन्थली स्थित मदन–आश्रित चोकमा रहेको स्वर्गीय नेताहरू मदन भण्डारी र जीवराज आश्रितको सालिकमा माल्यार्पण गरिएको छ ।
शनिवार बिहान आयोजित कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवं उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्द कुमार श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटी सदस्य एवं मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, प्रदेश कमिटी सदस्य गङ्गा कार्की, पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरिया, उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाश कुमार कार्की, उप–सचिव मिलनकुमार घिसिङ लगायतका जिल्ला कमिटीका र जनसंगठनका नेताहरू लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशसभा सदस्य श्रेष्ठले मदन–आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँहरूका विचार र मार्गदर्शन सधैँ प्रेरणा बन्ने बताउनुभयो । उहाँले मदन भण्डारीको अभिव्यक्तिमा इतिहासको समीक्षा र भविष्यको स्पष्ट दृष्टिकोण हुने गरेको बताउनुभयो ।
पार्टीका जिल्ला अध्यक्ष कडरियाले मदन भण्डारीका विचार इतिहासको जगमा उभिएर भविष्य निर्माण केन्द्रित हुने गरेको बताउनुभयो । नेपालको कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीले पु¥याएको योगदानको कारण सिङ्गो देश र विश्वले उहाँलाई सम्झने गरेको बताउनुभयो । एमाले रामेछापका सचिव प्रकाश कुमार कार्कीले मदन भण्डारीको कालजयी बिचारहरूलाई आत्मसाथ गर्दै उहाँको पथप्रदर्शकका रूपमा पार्टीका हरेक कमिटीलाई क्रियाशील बनाउनु पर्ने आजको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
२०५० साल जेठ ३ गते चितवनको दास ढुङ्गामा जिप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएका छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर्घटनाका एक मात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जीपका चालक अमर लामाको समेत हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ ।