३२औँ मदन–आश्रित स्मृति दिवसः विचारको सम्मान कि औपचारिकताको अपमान?

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ३ २०८२
  • माधव ढकाल

आज ज्येष्ठ ३ गते, २०५० सालमा भएको एउटा शोकपूर्ण घटनाले नेपाली राजनीति र वाम आन्दोलनमा गहिरो चोट पु¥यायो। मदन भण्डारी र जीवराज आश्रितको असामयिक निधनले नेपाली कम्युनिस्ट आन्दोलनलाई केवल नेतृत्वको हानि होइन, एक स्पष्ट वैचारिक दिशाबाट समेत विचलनको खतरा बनायो। आज ३२ वर्षपछि पनि हामी उनीहरूलाई श्रद्धापूर्वक सम्झिरहेका छौँ। तर यस प्रश्नको जवाफ दिन जरुरी छ के हामीले साँच्चै उनीहरूको विचार, दृष्टिकोण र मूल्यमा आधारित राजनीति गरिरहेका छौँ?

मदन भण्डारी :  विचार, व्यवहार र नेतृत्वको सङ्गम
मदन भण्डारी केवल एक नेता मात्र होइनन्, उनी विचार र व्यवहारको सङ्गम थिए। उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (ज.ब.ज.) ले नेपाली कम्युनिस्ट आन्दोलनलाई भूमिगतबाट बाहिर ल्याएर संसदीय लोकतन्त्रसँग समायोजन गर्न सफल बनायो। त्यो अवधारणा जनताको मतमार्फत समाजवादमा पुग्न सकिने विश्वासमा आधारित थियो जहाँ लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा र वैचारिक स्पष्टता सँगसँगै अघि बढ्न सक्थ्यो। उनको भाषण शैली, जनसंवाद गर्ने क्षमताले जनतालाई राजनीतिप्रति आकर्षित ग¥यो। उनले बौद्धिक वर्ग र सर्वसाधारण दुवैको मन जित्न सक्ने भाषाशीलै विकास गरेका थिए। ‘सडकदेखि सदनसम्म’ को नारा जस्तै, उनी क्रान्तिको मैदानमा पनि थिए, र जनमतको चुनावी अभ्यासमा पनि अग्रणी।



पार्टीको वर्तमान अवस्था : मूल्यबाट विचलन
नेकपा (एमाले) ले आजको दिनसम्म आइपुग्दा जुन उचाइ प्राप्त गरेको छ, त्यो मदन भण्डारीजस्ता नेताहरूको बलिदान, सङ्घर्ष र स्पष्ट विचारधारामा आधारित राजनीतिबाट सम्भव भएको हो। तर दुःखको कुरा, पछिल्लो समय पार्टीभित्र देखिएको अवस्था भने चिन्ताजनक बन्दै गएको छ। पार्टीभित्र एकातिर सैद्धान्तिक चर्चा हराउँदै गएको छ भने अर्कातिर व्यक्तिगत र गुटगत स्वार्थले ठाउँ लिएको छ। केही नेताहरू पार्टीको खोल ओढेर सत्ताको मोहमा मात्र सीमित छन्। जनताको पार्टी भनेर चिनिने एमाले आज केही नेताका लागि आफ्नो सन्ततिलाई सत्ताको उत्तराधिकारी बनाउने प्रयोगशाला जस्तै देखिन थालेको छ। पार्टीभित्रै अवसरको चक्र सीमित नेताहरू वरिपरि घुमिरहेकाले नयाँ नेतृत्व विकासको सम्भावना कुण्ठित हुँदै गएको छ । पुराना अनुहारहरू बारम्बार सत्ताको चक्करमा छन्, जसले गर्दा पार्टी एकै प्रकारको सोचमा स्थिर भएको आभास दिन थालेको छ ।

सम्पत्ति र स्वार्थको राजनीति : जनताको बिचबाट टाढिँदै पार्टी
सच्चा कम्युनिस्ट राजनीति त्याग र सेवा भावमा आधारित हुन्छ। तर आज पार्टीभित्र देखिएको अवस्था ठिक यसको विपरीत छ। सत्तामा पुग्नासाथ व्यक्तिगत सम्पत्ति थुपार्ने, आफ्नो परिवारलाई प्रमुख जिम्मेवारीमा पु¥याउने, र आफूभन्दा फरक सोच राख्ने कार्यकर्तामाथि दमन गर्ने प्रवृत्तिले पार्टीको मूल उद्देश्य र मूल्यलाई नै सङ्कटमा पारिदिएको छ । नेताहरूले सात पुस्तासम्म पुग्ने सम्पत्ति आर्जन गरेका खबरहरू सार्वजनिक हुँदै आएका छन्। जनताले रगतपसिना बगाएर बनाएको पार्टीमा यस्ता कार्यले केवल पार्टीको साख गिराउँछ, जनता र कार्यकर्ताबिच घृणा र असन्तुष्टि पैदा गर्छ । पार्टीभित्र असन्तुष्टिको स्वर घन्किनु स्वाभाविक हो। तर त्यो असन्तुष्टि सुधार, वैचारिक बहस र नेतृत्वको मार्गदर्शनका लागि हो कि केवल आफ्नो स्वार्थ पूरा नहुँदाको निराशा? अहिलेको प्रवृत्ति हेर्दा धेरैजसो नेताहरू सत्ताबाट टाढा जाँदा मात्र पार्टी नेतृत्वमाथि आरोप लगाउने, आलोचना गर्ने अभ्यासमा देखिन्छन्। जब सत्तामा छन्, तब उनीहरू पनि उस्तै प्रवृत्तिमा लिप्त देखिन्छन् । यसले पार्टीभित्र विश्वासको सङ्कट गहिरिएको छ। सुधारका लागि आवाज उठाउनेहरूले पनि आत्मालोचना नगर्ने हो भने त्यो परिवर्तन होइन, केवल बदला वा शक्ति खेल मात्र हुनेछ।

स्मृति दिवस : फूलको होइन, विचारको सम्मान होस्
३२औँ स्मृति दिवसलाई हामीले केवल फूल, भाषण र फोटो सत्रमा सीमित गर्नुहुन्न। यो दिवस जननेताको विचारमा फर्कने दिन हो। यो दिन आत्मसमिक्षा गर्ने, पार्टीभित्र देखिएका विकृतिहरूको विरोध गर्ने र सङ्गठनलाई सुधारको मार्गतर्फ लैजाने प्रेरणा दिने दिन हो। मदन भण्डारीको बलिदानको सम्मान गर्ने हो भने हामीले पार्टीलाई फेरि जनताको भरोसा कमाउने बनाउनु पर्छ। नेताहरूले आफूभित्र सुधार ल्याएर निष्ठा, पारदर्शिता र सेवा भावका साथ राजनीतिमा लाग्नुपर्छ। पार्टीले आफ्नो कार्यदिशा जनमुखी बनाउँदै वैचारिक स्पष्टता र सङ्गठनात्मक अनुशासनमा कडाइ गर्नुपर्छ। युवा पुस्तालाई नेतृत्वमा ल्याउन सहज वातावरण बनाइनुपर्छ। पुराना अनुहारहरू आफ्ना अनुभव हस्तान्तरण गरेर नयाँ पुस्तालाई मार्गदर्शन गर्न तयार हुनुपर्छ।

निष्कर्ष : ३२ वर्षअघि हामीले एउटा अमूल्य नेतृत्व गुमायौँ। त्यो क्षतिपूर्ति हुन सक्दैन। तर हामीले मदन भण्डारी र आश्रितप्रतिको श्रद्धाञ्जलीलाई सार्थक बनाउन सक्छौँ—यदि हामी विचारमा फर्कन्छौँ भने। स्मृति दिवस केवल औपचारिक कार्यक्रम बन्नु हुँदैन। यो दिन पार्टीभित्र नवीन सोच, आलोचनात्मक आत्ममूल्यांकन र सङ्गठनात्मक सुधारको अभियान आरम्भ गर्ने सन्देश दिनुपर्छ । जनताको पार्टी बनाइराख्न नेतृत्वले जनताको भाषा बोल्नुपर्छ, जनताको जीवन जिउनुपर्छ, र जनताको सपना बोकेर अघि बढ्नुपर्छ।

लेखक
माधव ढकाल
नेकपा (एमाले), रामेछाप नगर कमिटी सचिव हुनुहुन्छ ।