रामेछाप । आज किराँतहरू सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान् चाड उभौली पर्व । रामेछापका सुनुवार जातिहरूले आफ्नो परम्परा र संस्कृति अनुसार मनाइरहेका छन् । जिल्लाको उमाकुण्ड गाउँपालिकामा सुनुवार जातिको राम्रो बसोबास रहेको छ ।
उभौली पर्वमा उमाकुण्ड गाउँपालिका–४ स्थित चण्डी थानमा भव्य मेला नै लाग्ने गर्दछ । उभौली पर्वको अघिल्लो रात उमाकुण्डका सुनुवार जातिमा बुल्फे अर्थात् चण्डी बोलाउने नाच नाचिन्छ । त्यसको भोलिपल्ट उभौली पर्वको दिन चण्डी पूजा गर्ने प्रचलन छ । चण्डी थानमा सुनुवार जातिको परम्परा अनुसार आज राँगा, बोका र भालेको बली चढाइएको छ ।
चण्डी पूजाका लागि आफ्नो भेष भूषामा सजिएका हजारौँको सङ्ख्यामा सुनुवार जातिहरू चण्डी थानमा भेला भएका छन् । उनीहरूले आफ्नो संस्कृति र परम्परा अनुसार भाले र पोथी ढोल बजाएर नाच गान गरी रमाइलो गर्ने परम्परा रहेको उमाकुण्ड गाउँपालिकाबाट मणिराज सुनुवारले जानकारी दिनुभयो ।
उभौली पर्वमा वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख शान्ति सू स्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपत्तिहरू नआउन् भनी पूजा गर्ने चलन रहेको उहाँले बताउनुभयो । गुठेर अर्थात् बस्नेतको उपस्थितिमा चण्डी पूजा गर्ने प्रचलन रहेको र गुठेरको उपस्थिति बिना पूजा अपुरो हुन्छ भन्ने सुनुवार जातिको मान्यता रहेको उहाँले बताउनुभयो । सुनुवार जातिको राम्रो बसोबास रहेको उमाकुण्ड गाउँपालिकामा थप दुई दिन स्थानीय पर्व बिदा दिइएको छ । गाउँपालिकाले वैशाख ३० र ३१ गते थप बिदा दिएको हो ।