रामेछाप । नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले पार्टीलाई थप मजबुत बनाउन जनसंगठनहरु अझै सशक्त बन्नुपर्ने बताउनुभएको छ ।
बुधवार सदरमुकाम मन्थलीमा नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी रामेछापको पाँचौँ जिल्ला सम्मेलन बोल्दै अध्यक्ष कडरियाले यस्तो बताउनुभएको हो ।
अहिले पार्टीमा लाग्नु बित्तिकै आफूले पार्टी र समाजका लागि के गरे भन्दा पनि पार्टीले के दियो र भन्ने परिपाटीको विकास हुँदा समस्या रहेको उहाँले बताउनुभयो । अब एमालेलाई यो मुलुकको सबै भन्दा ठुलो र मजबुत पार्टी बनाउन मैले पार्टीबाट के पाए भन्दा पनि पार्टी र समाजका लागि के गरे भन्ने हेतुले सबै लाग्नुपर्नेमा उहाँको जोड छ ।
अहिले एमाले नेतृत्वको सरकार र एमालेलाई कमजोर बनाउन केही तत्त्वहरू हात धोएरै लागेकाले यस्ता गतिविधिको प्रतिकार गरी सचेत भएर अगाडी बढ्न नेता कार्यकर्तालाई उहाँको आग्रह छ ।
समाजमा अझै पनि जातीय विभेद कायमै रहेकाले यसको अन्त्य गर्न नेपाल उत्पीडित जातीय मुक्ति समाज सशक्त ढङ्गले अगाडी बढ्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो “हाम्रो समाजमा अझै जातीय विभेद कायमै छ । समाजमा अझै जातीय विभेदका घटनाहरू भइरहेका छन् । यस्ता विभेदहरूको अन्त्य गर्न नेपाल उत्पीडित जातीय मुक्ति समाजको भूमिका सशक्त हुनु अत्यावश्यक छ ।”