रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबासको सल्लेनी वनमा निर्माण गरिएको मदन भण्डारी पार्क आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । यो पार्कमा पछिल्लो समय पारिवारिक घुमघाम र वनभोज जाने मासीहरूको सङ्ख्या बाक्लै देखिन थालेको छ । जिल्ला सदरमुकाम मन्थलीबाट आधा घण्टाको सडक मार्ग पार गरेपछि यो पार्कमा पुग्न सकिन्छ ।
आजकल पार्कमा मन्थलीको गर्मी छल्न पुग्ने मानिसहरू बाक्लै भेटिन्छन् । सदरमुकाम मन्थलीबाट धेरै टाढा पनि नभएको र यो पार्कमा आउँदा छुट्टै आनन्द महसुस हुने पार्क घुम्न पुग्नुभएका रामेछाप नगरपालिका–८ की पार्वती घिमिरे बताउनुहुन्छ । उहाँले भन्नुभयो “सदरमुकाम मन्थलीमा हिजो आज सारै गर्मी बढेको छ । मन्थलीको गर्मी छल्न र परिवार नै घुम्न आउनेका लागि यो पार्कमा राम्रो लाग्यो ।” स्थानीय, प्रदेश र सङ्घीय सरकारले अझै व्यवस्थापन गर्न सके यो पार्क रामेछापमा पर्यटक विकासका लागि एउटा आधार बन्न सक्ने उहाँले बताउनुभयो ।
खाँडादेवी गाउँपालिका–७ मा रहेको प्रसिद्ध खाँडादेवी मन्दिर दर्शन गर्न आउने मानिसहरू पनि सो पार्क घुम्न र पिकनिकका आउने गरेको खाँडादेवी गाउँपालिका–५ का वडाध्यक्ष मनोज पौडेलले बताउनुभयो। पार्कमा घुम्न आउनेको सङ्ख्या बढ्न थालेपछि पिकनिक स्पोर्टको लागि वडा कार्यालय र गाउँपालिकाले खानेपानी, किचन लगायतका व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालय रामेछापसँग समन्वय गरी पार्क क्षेत्रमा पोखरी निर्माणको काम गर्ने तयारी भइरहेको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो“दुःखले बनाएको मदन भण्डारी पार्क आजकल घुम्न आउनेको रोजाइमा परेको छ । यसलाई ध्यानमा राखेर आवश्यक संरचनाहरू निर्माणको काम हुँदै छ । गाउँपालिकाको १५ लाख रुपैयाँबाट थप निर्माणको काम हुन्छ । यो वर्ष भित्र यसलाई रमणीय पर्यटकीय स्थल बनाउँछौँ ।”
यो पार्क अहिले सदरमुकाम मन्थली पुगेकालाई घुम्ने थलो बन्दै गएको छ । सल्लाको वन भित्र रहेको पार्क प्राकृतिक हिसाबले पनि निक्कै मनोरम छ । सल्लेनी सामुदायिक वनको खालि जग्गामा बनेको सो पार्क निर्माणको लागि सुरुमा खाँडादेवी गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेर डिपिआर गरेको थियो । पछि रामेछापका कैलाशप्रसाद ढुङ्गेल वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री हुँदा सो पार्क निर्माणको लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । सोही बजेटबाट शौचालय, कम्पाउन्ड निर्माण, मदन भण्डारीको प्रतिमा निर्माण लगायतका काम गरिएको थियो ।
