रामेछाप । आर्थिक विकासका लागि बजार महत्वपूर्ण आधार हो । उत्पादित वस्तु र सेवाको व्यवस्थित तथा दीगो बजार व्यवस्थापनले मात्र विकास र समृद्धि गतिशील बन्न सक्छ ।
नेपालमा पनि कोभिड–१९ पछि देखिएको व्यापार आर्थिक मन्दीको मारमा प¥यो । जसबाट रामेछाप सदरमुकाम मन्थली पनि अछुतो रहन सकेन । तर, अचेल सुस्ताएको मन्थलीलाई चलायमान बनाउने प्रमुख आधार विमानस्थल बनेको छ । अहिले सगरमाथा क्षेत्रमा वसन्त ऋतुको आरोहण चलिरहेको छ ।
रामेछापको मन्थली विमानस्थल आरोहण तथा ट्रेकिङमा जाने विदेशी पर्यटकले भरिभराउ छ । यो विमानस्थलबाट अचेल लुक्लाका लागि दैनिक ४० वटासम्म उडान भइरहेका छन् । वसन्त ऋतुको सिजन चैतदेखि जेठसम्म र शरद ऋतुको असोज पहिलो सातादेखि मंसिरको १५ सम्म मन्थली विमानस्थलबाट लुक्ला उडान हुने गरेको छ ।
यो दुई सिजनमा झन्डै ६ महिना मन्थली बजारमा विदेशी पर्यटकको ठूलो चहलपहल हुन्छ । मौसम अनुकुल नभई उडानमा अवरोध भयो भने त मन्थलीमा रहेका होटलहरुलाई पर्यटक धान्न हम्मेहम्मे पर्छ । त्यसैले सुस्ताएको मन्थली बजार चलयामन बनाउने मुख्य आधार विमानस्थलको चहलपहल बनिरहेको छ ।
मन्थली विमानस्थल २०३२ सालमा निर्माण सुरु भई ०३४ सालमा सम्पन्न भएको थियो । सरकारले यो विमानस्थलबाट २०७५ चैत १८ गतेदेखि समगरमाथा क्षेत्र घुम्न आएका पर्यटकहरुलाई लुक्ला लाने र ल्याउने व्यवस्था गरेको छ । लुक्ला उडान हुन थालेपछि मन्थलीमा ठूला लगानीका होटेल–रिसोर्टहरु सञ्चालनमा आएका छन् ।
पुराना होटेलहरुले पनि आफ्ना सेवा सुविधा गुणस्तरीय बनाउँदै लगेको होटेल व्यवसायी शेखरमान श्रेष्ठ बताउनुहुन्छ । मन्थलीमा विदेशी पर्यटकलाई लक्षित गरी भएका होटहरुको सेवा सुविधा विस्तार भइसकेको र अन्य सुविधा सम्पन्न होटलहरु खुल्ने क्रममा रहेको उहाँले बताउनुभयो ।
मन्थलीका होटेल व्यवसायीहरुलाई समगरमाथा क्षेत्र घुम्न आउने विदेशी पर्यटकहरुलाई नै लक्षित गरी लगानी बढाउन र सेवालाई थप गुणस्तरीय बनाउनका लागि काम भइरहेको रामेछाप उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो ।
जिल्लामा ५०० जना क्षमताका तीनवटा रिसोर्टहरु रहेको र मन्थलीमा आउने पर्यटकलाई नै लक्षित गरी थ्री स्टार लेवलको होटल सञ्चालनको तयारी भइरहेको उहाँले बताउनुभयो ।
अहिले मन्थली–लुक्ला उडान भइरहेको मन्थली विमान स्थललाई स्थायी रुपमा सञ्चालनका लागि स्थानीय सरकारले आवश्यक पहल कदमी लिइरहेको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो । मन्थली विमान स्थलबाट आवत जावत गर्ने पर्यटकहरुलाई ध्यानमा राखेर आसपासमा रहेका पर्यटकीय क्षेत्रहरुमा आवश्यक पूर्वाधार निर्माणमा मन्थली नगरपालिकाको ध्यान गएको उहाँको भनाइ छ ।
मन्थली रहेका होटेलहरुले पनि गुणस्तरीय बनिसकेका र होटेल क्षेत्रमा लगानी भित्रने क्रम पनि जारी रहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
मन्थली विमानस्थलका अनुसार सिजनमा बिहानैदेखि मौसम राम्रो भएमा एकै दिन ६० वटाभन्दा बढी उडानबाट ८ सय ५० जनासम्म पर्यटक लुक्ला पुग्छन् । मन्थली बजारसहित जिल्लाभरकै पर्यटकीय विकासमा ठूलो टेवा पु¥याइरहेको मन्थली विमानस्थलबाट अझै व्यावसायिक फाइदा लिन सम्बन्धित निकायले दीर्घकालीन योजना बनाउन अत्यावश्यक रहेको पर्यटन व्यवसायीहरुको सुझाव छ ।