रामेछाप । सोलुखुम्बु स्थित लुक्लाको मौसम खुलेसँगै आइतबार बिहानैबाट मन्थली–लुक्ला उडान सुरु भएको छ । वसन्त ऋतुको सिजन सुरु भएपछि गत बिहबिार एकाएक लुक्लाको मौसममा खराबी आउँदा मन्थली–लुक्ला उडान रोकिएको थियो ।
लुक्ला विमान उडान हुन नसकेपछि बिहीबार दिउँसोबाट रामेछापको मन्थलीमा रोकिएका ५ सय भन्दा बढी पर्यटकलाई हेलिकोप्टरबाट लुक्ला र विमान मार्फत फाप्लु लान थालिएको थियो ।
चार दिनपछि लुक्लाको मौसम खुलेसँगै आइतबार बिहानैदेखि मन्थली–लुक्ला उडान भइरहेको मन्थली विमान स्थल प्रमुख हिरोण शाहले बताउनुभयो । आइतबार बिहानैदेखि उडान सुरु भएकोमा अहिलेसम्म आधा दर्जन उडान मार्फत ८० जना भन्दा बढी पर्यटक लुक्ला पुगिसकेका उहाँले बताउनुभयो ।
नागरिक उड्डयन प्राधिकरणले सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका पर्यटकलाई दुई सिजनमा मन्थली विमान स्थलको प्रयोग गरी गन्तव्यसम्म पुर्याउने गरेको छ । (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थल मार्फतबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ । बिहानैदेखि मौसम राम्रो भएको समयमा एकै दिन ६० वटा भन्दा बढी उडानमार्फत ८५० जनासम्म पर्यटक लुक्ला पुग्ने गरेका छन् ।