युवराज ज्ञवाली, सिपी मैनाली सहित ५० भन्दा बढी कम्युनिष्ट नेताहरू रामेछाप आउँदै

  • प्रकाशित मिति: शुक्रबार, चैत्र २१ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापमा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (माले)का महासचिव सिपी मैनाली सहित ५० जना भन्दा बढी कम्युनिष्ट पार्टीका नेताहरू भेला हुने भएका छन् ।

३६ औँ जनआन्दोलन दिवसका अवसर पारेर पुष्पलाल जन्म शताब्दी, कृष्णलाल बलिदान शताब्दी समारोह समितिले चैत २३–२५ गतेसम्म आयोजना गर्ने पुष्पलाल माक्र्सवादी विश्वविद्यालय–कृष्णलाल अधिकारी प्रथम साहित्यिक सहिद घोषणा तथा अग्रज कम्युनिष्ट नेता अभिनन्दन कार्यक्रमका लागि कम्युनिष्ट नेताहरू रामेछाप आउने भएका हुन् ।



शुक्रवार सदरमुकाम मन्थलीमा पत्रकार भेटघाट कार्यक्रम गरी आयोजकले यसबारेमा जानकारी दिएको हो । पत्रकार भेटघाटमा आयोजक पुष्पलाल जन्म शताब्दी, कृष्णलाल बलिदान शताब्दी समारोह समितिका संयोजक अशोक सुवेदीले वृहत् विचार गोष्ठीमा प्रस्तुत हुने विचार पत्रमाथि बहस गर्नका लागि नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री रामेछाप आउने बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माले)का महासचिव सिपी मैनाली, समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंह(समर्जन) लगायतका ५० जना भन्दा बढी कम्युनिष्ट पार्टीहरूका नेताहरु आउने बताउनुभयो ।

उहाँले चैत २३–२५ गतेसम्मको तीन दिन पुष्पलाल, गंगलाल र कृष्णलालका नाममा समर्पित गरिने बताउनुभयो । यो अवधिमा तीनलालको जीवनी, व्यक्तित्वका बारेमा चर्चा गर्दै विशेषतः नेपाली जनता र नेपाली समाजलाई सुखद, समृद्ध र समान बनाउनका लागि आफ्नो जीवनको बलिदान गरेर जुन किसिमको त्याग, इमानदारी र निष्ठा देखाउनुभयो त्यसको विशेष चर्चा गरिने उहाँले बताउनुभयो ।

तीनलाले नेपाल भर विचारको क्षेत्रमा स्थापित बन्ने र नेपालीहरूलाई स्थापित गराउने जुन प्रयास गर्नुभयो त्यो विषयमा यो जन्म शताब्दी र बलिदान शताब्दीलाई जोडेर एउटा विशाल फोरम निर्माण गर्ने कार्यक्रमको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार तीन दिन कृष्णलाललाई नेपालका प्रथम साहित्यिक सहित र पुष्पलाल माक्र्सवादी विश्वविद्यालय घोषणा, कृष्णलाल पुष्पलाल गङ्गालालको जन्म जिल्ला रामेछापको मन्थलीस्थित कृष्णलाल जन्मस्थल कठजोर, गंगलाल पुष्पलालको जन्मस्थल रामेछापको भँगेरी र हित जुन युद्ध कला सङ्ग्रहालय सिर्जना नगरको भ्रमण कार्यक्रम सञ्चालन हुनेछन् ।