आज पनि लुक्लाको मौसम खुलेन, ५ सय बढी पर्यटक मन्थलीमै रोकिए

  • प्रकाशित मिति: शुक्रबार, चैत्र २१ २०८१
  • तामाकोशी

रामेछाप । हिजो बिहीबारदेखि सोलुखुम्बुको लुक्लाको मौसम खराब हुँदा सगरमाथा क्षेत्र घुम्न आएका ५ सय भन्दा बढी पर्यटक रामेछापको मन्थलीमै रोकिएका छन् ।

बिहीबार बिहान पाँच वटा उडान भएपछि खुम्बु क्षेत्रको मौसममा एकाएक खराबी आएपछि मन्थली–लुक्ला उडान हुन सकेन । बिहीबार बिहान पाँच वटा उडान भएपछि अन्य उडान हुन नसकेको मन्थली विमान स्थल प्रमुख हिरोण शाहले बताउनुभयो । आज शुक्रबार पनि लुक्ला क्षेत्रको मौसम खराब रहेकाले अहिलेसम्म उडान हुन नसक्दा ५ सय बढी पर्यटक मन्थलीमा होल्ड भएको उहाँले बताउनुभयो ।



शुक्रबार केही पर्यटकहरू हेलिकोप्टरमार्फत फाप्लु गएका र विमान कम्पनीहरूले पनि मन्थलीमा होल्ड भएका पर्यटकहरूलाई फाप्लु लैजाने तयारी गरेको उहाँले बताउनुभयो ।

मन्थली विमान स्थलका अनुसार हिजो हेलिकोप्टरमार्फत् ४५ जना लुक्ला र ४७ जना पर्यटक फाप्लु पुगेका थिए । हिजो बिहान भएका पाँच वटा उडानमार्फत् ९३ जना पर्यटक लुक्ला पुगेका थिए । सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई रामेछापको मन्थली विमान स्थलबाट लुक्ला पु¥याउने र ल्याउने व्यवस्था गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थल मार्फतबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ ।

नागरिक उड्डयन प्राधिकरण मन्थलीका अनुसार मन्थली विमान स्थललाई प्रयोग गरी सीता, तारा र समिट एयरका जहाजहरूले सगरमाथा क्षेत्रको भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई लुक्ला पु¥याउने र ल्याउने गरिरहेका छन् । मन्थली विमान स्थलका अनुसार बिहानैदेखि मौसम राम्रो भएको समयमा एकै दिन ६० वटा भन्दा बढी उडानमार्फत ८५० जनासम्म पर्यटक लुक्ला पुग्ने गरेका छन् ।