अनेरास्ववियु रामेछापको आयोजनामा मन्थलीमा तीनलाल स्मृति कप हुँदै

  • प्रकाशित मिति: सोमबार, फाल्गुन ५ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थलीमा २० वर्ष मुनिको तीनलाल स्मृति कप भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिबल सङ्घको प्राविधिक सहयोगमा अनेरास्ववियु रामेछापको आयोजनामा फागुन ९ देखि १२ गतेसम्म तीनलाल स्मृति कप २०८१ प्रतियोगिता सञ्चालन हुन लागेको हो । उक्त प्रतियोगिताको लगभग तयारी पुरा भइसकेको सोमबार मन्थलीमा पत्रकार सम्मेलन गरी आयोजक अनेरास्ववियु रामेछापले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, सहिद गङ्गालाल र नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलालको योगदानलाई कदर गदै उहाँहरूको सम्झनामा तीनलाल स्मृति कप २०८१ को आयोजना गरिएको बताउनुभयो । आवश्यक तयारी लगभग पुरा भइसकेको यो प्रतियोगितामा देशभरका विभिन्न जिल्लाका २० भन्दा बढी टिमका २०० बढी खेलाडीहरूको सहभागिता रहने अध्यक्ष भट्टराईले बताउनुभयो ।
प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार सहिद शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष भट्टराईले बताउनुभयो । त्यसै सेमिफाइनलमा प्रवेश गर्ने दुई समूहले नगद दश÷दश हजार सहित प्रमाण प्राप्त गर्ने पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले जानकारी गराउनुभयो । उत्कृष्ट खेलाडीलाई नगद तीन हजार रुपैयाँ सहित ट्रफि प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट कोचलाई समेत ट्रफि प्रदान गरिने अध्यक्ष भट्टराईले बताउनुभयो । करिब पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगिताको मुख्य प्रयोजक मन्थली नगरपालिका रहेको आयोजकले जनाएको छ । प्रतियोगिता जिल्ला समन्वय समिति पछाडिको खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।