रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा भोलि बुधवारदेखि ११ दिने रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी सुरु हुँदै छ । रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा माघ २६ गते शनिवारसम्म जिल्ला समन्वय समितिको प्राङ्गणमा मेला प्रदर्शनी हुन लागेको हो ।
जिल्लाको कृषि उत्पादन, घरेलु तथा साना उद्योगका उत्पादन सहित पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन गरी आन्तरिक निर्यातलाई सुदृढ बनाउन गर्न लागिएको मेला प्रदर्शनीको पूरा भएको रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला÷नगर उपाध्यक्ष सुरकृष्ण बैद्यबाट मेला प्रदर्शनीको उद्घाटन हुनेछ ।
यो मेला प्रदर्शनीले जिल्लाको पर्यटकीय गतिविधिलाई वृद्धि गरी जिल्लाको आर्थिक उन्नतिमा पनि टेवा पुग्ने आयोजकले विश्वास लिएको उहाँले बताउनुभयो ।
११ दिनसम्म चल्ने मेला प्रदर्शनीबाट २५ लाख रुपैयाँ आम्दानी हुने र सोही अनुसारको खर्च हुने आयोजकको अनुमान रहेको पनि उहाँले बताउनुभयो । मेला प्रदर्शनी सुरु भएको दिन माघ १६ गतेदेखि १९ गतेसम्म निःशुल्क अवलोकन गर्न सकिने र माघ १९ गतेदेखि २६ गतेसम्म भने दिउँसो ४ बजेपछि हुने सांस्कृतिक कार्यक्रममा भने टिकटको व्यवस्था गरिएको रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो ।
मेला प्रदर्शनीमा ७५ वटा भन्दा बढी स्टलहरू रहने र स्थानीय कृषि, घरेलु तथा साना उद्योगका उत्पादनहरूलाई भने पालिकाहरूको सहयोगमा स्टल निःशुल्क प्रदान गरिने उहाँले बताउनुभयो ।
११ दिनसम्म चल्ने मेला प्रदर्शनीमा आफ्नो प्रस्तुति दिन चर्चित गायक, गायिकाहरु राजनराज सिवाकोटी, यलिना चौहान, रचना रिमाल, मिलन नेवार, दुर्गेश थापा मन्थली आउने रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नवीन घिमिरेले बताउनुभयो । कार्यक्रममा सरोज लामिछाने, शान्ति रानी परियार, प्रकाश कटुवाल, रामकुमार नेपाली, ज्योति मगर जस्ता चर्चित कलाकारहरुले प्रस्तुति दिने उहाँले बताउनुभयो ।
रामेछापको मन्थलीमा भोलिबाट कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी हुँदै
- प्रकाशित मिति: मंगलबार, माघ १५ २०८१
- तामाकोशी