रामेछाप । रामेछाप र दोलखा जिल्लालाई कार्यक्षेत्र बनाएको खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाका उपाध्यक्ष भुवन केसीले संस्थाको नाममा किर्ते गरी बोलपत्र आह्वान सम्बन्धी झूटो सूचना छपाएको पाइएको छ । नेपाली काँग्रेस दोलखाको सङ्गठन विभाग प्रमुख समेत रहेको उपाध्यक्ष केसीले संस्थाको नाम, ठेगाना र लोगो राखेर किर्ते गरी बोलपत्र आह्वान सम्बन्धी झूटो सूचना दिएको खुलेको छ ।
गत कात्तिक ६ गते दोलखाको तामाकोशी गाउँपालिका–५ कीर्णेमा रहेको खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको बोलपत्र आह्वानको सूचना प्रभाव दैनिकमा पत्रिकामार्फत प्रकाशन भयो । प्रकाशित ३० दिने सूचनामार्फत झाँक्रे–२ मिनी हाइड्रो निर्माण गर्न इच्छुक कम्पनी÷फर्मलाई नियमानुसार संस्थाको कार्यालयमा आएर बोलपत्र खरिद गर्न आह्वान गरिएको थियो । संस्थाको नाम, ठेगाना, लोगो प्रयोग गरी नक्कली इमेल ठेगाना बनाएर पत्रिकामा प्रकाशनको लागि सूचना पठाइएको थियो । सूचनामा विल डकुमेन्टको २० हजार रुपैयाँ र सेक्युरिटी रकम ८० लाख ११ हजार ९ सय ५७ राखिएको थियो । उपाध्यक्षले सो सूचना सञ्चालक तथा व्यवस्थापकलाई जानकारी नदिई प्रकाशन गर्न लगाएको खुलेको छ ।
आफैँले छपाएको सूचनाको विरुद्ध उपाध्यक्ष केसीको उजुरी
संस्थाको नाममा दैनिक पत्रिकामार्फत बोलपत्र आह्वानसम्बन्धी सूचना प्रकाशित भएपछि संस्थाका सञ्चालक उपाध्यक्ष भुवन केसी, कोषाध्यक्ष धिराज सुवेदी, सदस्य सुमन मिजार र महाप्रबन्धक कुमार फुयाँल सहित ४ जनाले संयुक्त दस्तखत गरी अनुसन्धान गरी आवश्यक कारबाहीको माग गर्दै कात्तिक ७ गतेको मितिमा अपराध अनुसन्धान महाशाखा टेकु, काठमाडौँमा उजुरी हालेका थिए । बोलपत्र आह्वानको विषयमा संस्थाले कुनै निर्णय तथा प्रक्रिया अघि नबढाएको उजुरीमा उल्लेख छ । उनीहरूले उजुरीमार्फत झुटो सूचना प्रकाशित गरी निर्माण व्यवसायीबाट रकम लिने, संस्थालाई बदनाम गर्ने वा कुनै अन्य स्वार्थको लागि ठगीसमेत गर्न सक्ने भएकोले छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका थिए । सो उजुरीमाथि छानबिन हुँदा उपाध्यक्ष आफैँले किर्ते गरी सूचना छपाएको पुष्टि भएको थियो ।

आफूले संस्थाको नाम, ठेगाना, लोगो प्रयोग गरी झूटो सूचना छपाएको कुरालाई उपाध्यक्ष स्वयम् आफैँले अपराध अनुसन्धान महाशाखा टेकुमा पुगेर स्वीकार गर्नुभएको सञ्चालकहरूको भनाइ छ । यस विषयमा उपाध्यक्ष भुवन केसीसँग बुझ्दा आफूबाट भूलवश त्रुटि भएको भन्दै गल्ती स्वीकार गर्नुभएको छ । उपाध्यक्ष केसीले टेकु प्रहरीसमक्ष आफूबाट भूलवश त्रुटि भएको कुरालाई स्वीकार गर्दै प्रकाशित झूटो सूचनाका कारण पर्न सक्ने प्रभाव र आइपर्ने सम्पूर्ण दायित्व आफूले बेहोर्ने भनी सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ । सहमति पत्रमा लेखिएको छ– ‘यस कार्यालयमा परेको निवेदन उपर दुवै पक्ष यस कार्यालयमा आई छलफल गर्दा निवेदक पक्षको उपाध्यक्ष भुवन केसी मार्फत भुलवश विज्ञापनको लागि गएको भन्ने कुरा भई यसले पार्ने प्रभाव केही भएमा सम्पूर्ण दायित्व उपाध्यक्ष भुवन केसीले लिने भनी सहमति गरी गएको ब्यहोरा यस कार्यालय मार्फत नेपाल सरकारमा चढायौँ ।’
झुटो सूचना प्रकाशन गराउन उपाध्यक्षकै संलग्नता : अध्यक्ष शेरबहादुर खड्का
खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाका अध्यक्ष शेरबहादुर खड्काले पनि झुटो सूचना प्रकाशन गराउने कार्यमा उपाध्यक्ष भुवन केसीको संलग्नता देखिएको बताउनुभयो । उपाध्यक्ष केसीले संस्थाका सबै बोर्ड सदस्यहरूका बिचमा गल्ती स्वीकार गर्नु भएको अध्यक्ष खड्काले बताउनुभयो ।
सो सूचना प्रकाशित भएपछिको सबै जिम्मा उहाँले लिने कागज गराइएको पनि उहाँले जानकारी दिनुभयो । ‘यस बिचमा भएका घटनाको सम्पूर्ण जिम्मेवारी उहाँले लिने गरी प्रहरीमा एउटा सम्झौता भएको छ, उहाँले संस्थामा पनि सो कुरा स्वीकार गर्नु भएको छ’, खड्काले भन्नुभयो । किर्ते गरी बोलपत्र आह्वान सम्बन्धी सूचना प्रकाशन गर्ने कार्यमा उपाध्यक्ष केसीको संलग्नता देखिएपछि कात्तिक २१ गतेको बोर्ड बैठकको निर्णयबाट उपाध्यक्ष केसीलाई निलम्बित गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।
उपाध्यक्षले गल्ती स्विकार्नुभयो : महाप्रबन्धक कुमार फुयाँल
खिम्ती ग्रामीण विद्युत् सहकारीका महाप्रबन्धक कुमार फुयाँलले पनि छानबिनका क्रममा उपाध्यक्ष केसीले नै संस्थाको नाममा झूटो सूचना प्रकाशन गराएको पाइएको बताउनुभयो । महाप्रबन्धक फुयाँलले भन्नुभयो,‘ हाम्रो उपाध्यक्ष ज्यूले यो चाहिँ मैले नै भूलवश गरेको हो, त्यस कारणले संस्थाले गरेको कारबाही स्विकार्छु भन्नुभएको छ’, उहाँले भन्नुभयो ।
किर्ते गरी ठगी गर्ने नियतले झूटो सूचना निकालेको हुन सक्छः वडा अध्यक्ष शम्भु फुयाँल
दोलखाको तामाकोशी गाउँपालिका–५ का वडा अध्यक्ष शम्भु फुयाँलले उपाध्यक्ष केसीले ठगी गर्ने नियतले यस्तो काम गरेको हुनसक्ने बताउनुभयो । वडा अध्यक्ष फुयाँलका अनुसार सो सूचना वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ५० प्रतिशत, खिम्ती ग्रामीण विद्युत् सहकारी संस्था, रामेछापको गोकुलगंगा गाउँपालिका र दोलखाको तामाकोशी गाउँपालिकाले ५० प्रतिशत लागत बेहोर्ने गरी निर्माण गर्न लागिएको २६ करोडको परियोजना हो ।
तर उपाध्यक्ष केसीले १२ करोडको बोलपत्र आह्वानको सूचना निकालेका थिए । अहिले सो सहकारी संस्थाका करिब ११ हजार ग्राहक सदस्य छन् भने ७ हजार सेयर सदस्य छन् । संस्थाले दोलखाको तामाकोशी गाउँपालिका, जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिका, मन्थली नगरपालिका र लिखु तामाकोशी गाउँपालिकासहित विभिन्न १४ वटा वडामा सेवा प्रवाह गर्दै आएको छ । उपाध्यक्ष केसी भने आफूमाथि प्रतिशोध साँधिएको बताउनुभयो । आफू काँग्रेस पार्टीको कार्यकर्ता भएकै कारणले आफूमाथि प्रतिशोध साँध्ने काम भएको उहाँको भनाइ छ । लामो विषय भएकोले आफूले यस विषयमा अहिले बताउन नसक्ने केसीले बताउनुभयो ।
