एक हप्तासम्म रोकिएको मन्थली–लुक्ला उडान सुरु

  • प्रकाशित मिति: आइतबार, कार्तिक ४ २०८१
  • तामाकोशी

रामेछाप । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा रोकिएको मन्थली–लुक्ला उडान एक हप्तापछि सुरु भएको छ । गत सोमबारदेखि रोकिएको मन्थली–लुक्ला उडान मौसम सुधार भएसँगै आइतबारबाट मन्थली–लुक्ला उडान हुन थालेको हो ।
खुम्बु क्षेत्रमा मौसम खराब भएर गत सोमबारदेखि रोकिएको मन्थली–लुक्ला उडान आइतबार बिहान ११ बजेबाट सुचारु भएको रामेछाप नागरिक उड्डयन कार्यालय मन्थलीका उपप्रवन्धक हिरोण शाहले बताउनुभयो । उहाँले भन्नुभयो “गत सोमबारदेखि रोकिएको मन्थली–लुक्ला उडान आइतबारबाट सुरु भएको छ । आइतबार १६ वटा भन्दा बढी प्लेन र ४८ वटा हेलिकोप्टर उडान भएका छन् । सो उडान मार्फत झन्डै ५०० जनाले पर्यटकले सेवा लिएका छन् । केही पर्यटक सोलुखुम्बुको फाप्लु र सुर्के पुगेका छन् ।”
गत सोमबारदेखि मौसम खराबीले मन्थली–लुक्ला उडान हुन नसक्दा एक हजार भन्दा बढी पर्यटक रामेछाप सदरमुकाम मन्थलीमै रोकिएका थिए । मन्थलीमा रोकिएका मध्ये ४०० भन्दा बढी पर्यटकलाई बिहीबार, शुक्रवार र शनिवार तीन दिन हेलिकोप्टरबाट सोलुखुम्बुको फाप्लु र सुर्के लगिएको थियो । मन्थलीमा रोकिएका पर्यटकहरूलाई आधा दर्जन बढी निजी कम्पनीका हेलिकोप्टरले बोकेका थिए । रामेछाप नागरिक उड्डयन कार्यालयका अनुसार मन्थली विमान स्थलमा अझै ५०० भन्दा बढी पर्यटकहरू लुक्ला जाने पालो कुरेर बसेका छन् ।
सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई रामेछापको मन्थली विमान स्थलबाट लुक्ला पु¥याउने र ल्याउने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थल मार्फतबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ । तर यो पटकको सिजन सुरु हुन साथ पटक पटक मौसम बिग्रिदा छोटो समय लिएर सगरमाथा क्षेत्र भ्रमणका लागि आएका धेरै पर्यटकहरू मन्थलीबाटै फर्किएका रामेछाप होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष कवीन्द्र लामाले बताउनुभयो । उहाँले भन्नुभयो “यो पटकको सिजनमा पटक पटक मौसम खराब भयो । यो पटक त झन एक हप्ता लुक्लाको मौसम खुलेन । जसका कारण छोटो समय मिलाएर आएका धेरै पर्यटकहरु मन्थलीबाटै फर्किए ।”