हेलिकोप्टर उडान मार्फत १३५ जना पर्यटक मन्थलीबाट सोलु पुगे

  • प्रकाशित मिति: बिहिबार, कार्तिक १ २०८१
  • तामाकोशी

रामेछाप । चार दिनदेखि मन्थली–लुक्ला उडान हुन नसक्दा रामेछापको मन्थलीमा रोकिएका मध्ये बिहीबार १३५ जना पर्यटक हेलिकोप्टर मार्फत सोलुखुम्बुको फाप्लु र सुर्के पुगेका छन् । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सोमबारदेखि मन्थली–लुक्ला उडान रोकिएपछि एक हजार भन्दा बढी पर्यटक मन्थलीमै रोकिएका थिए ।
गत सोमबारदेखि मन्थली–लुक्ला उडान हुन नसक्दा मन्थलीमा रोकिएका पर्यटकमध्ये बिहीबार १३५ जनालाई हेलिकोप्टरबाट सोलुखुम्बुको फाप्लु र सुर्के लगिएको रामेछाप नागरिक उड्डयन कार्यालय मन्थलीका उपप्रवन्धक हिरण साहले बताउनुभयो ।
उहाँले भन्नुभयो “गत सोमबारदेखि रोकिएको मन्थली–लुक्ला उडान बुधवार केही घण्टा सुचारु भएको थियो । खुम्बु क्षेत्रमा फेरी मौसम खराब भएपछि बुधवार मध्यान्हबाट रोकिएको उडान बिहीबार पनि हुन सकेन । बिहीबार बिहान साढे ११ बजेबाट बाट विभिन्न कम्पनीका पाँच वटा भन्दा बढी हेलिकोप्टरहरुले २७ वटा उडान गरी १३५ जना पर्यटकहरूलाई सोलुखुम्बुको फाप्लु र सुर्के पु¥याएका छन् ।” उहाँका अनुसार एउटा हेलिकप्टर मार्फत पाँच जना पर्यटक सोलुखुम्बु पुगेका छन् ।
सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई रामेछापको मन्थली विमान स्थलबाट लुक्ला पु¥याउने र ल्याउने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थल मार्फतबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ । एउटा उडान मार्फत १४ देखि १८ जनासम्म पर्यटक मन्थली विमानस्थलबाट लुक्ला पुग्ने गरेका छन् । बिहानदेखि बेलुकासम्म मौसम खुलेको समयमा एक दिनमा ६० वटा सम्म मन्थली– लुक्ला उडान हुने गरेको छ ।