अवरुद्ध मन्थली–चरिकोट–काठमाडौँ सडक केही घण्टामा खुल्ने, सडक बनाउने काम जारी

  • प्रकाशित मिति: शनिबार, असोज १९ २०८१
  • तामाकोशी

रामेछाप । दोलखाको मालुखोला नजिकै पहिरो खसेपछि अवरुद्ध मन्थली–चरिकोट–काठमाडौँ सडक खुलाउने काम जारी छ । काठमाडौंबाट चरिकोट हुँदै रामेछापको मन्थली, ओखलढुङ्गा, सिन्धुली, खोटाङ, सोलुखुम्बु लगायत पूर्वको भोजपुरसम्म जाने वैकल्पिक सडक सञ्चालन गरिएको थियो ।

दोलखाको मालुखोला नजिक तामाकोशी नदी किनारमा पहिरिएर सडक झरेपछि शनिवार बिहानबाट यातायात साधन रोकिएका छन् ।
वर्षाको कारण गलेको सडक माथिबाट झरेको पानीले गलेर पहिरिएको स्थानीयले बताएका छन् ।



अवरुद्ध सडक चाँडो भन्दा चाँडो खुलाउने गरी काम भइरहेको रामेछापका प्रदेशसभा सदस्य आनन्द कुमार श्रेष्ठ जानकारी दिनुभयो । उहाँले भन्नुभयो “पहिरो खसेको ठाउँबाट भित्तापट्टि कपेर सडक सञ्चालन गर्ने सकिने अवस्था छ । सोही अनुसार अहिले सडक सञ्चालनका लागि काम भइरहेको छ । अबको दुई देखि तीन घण्टाको समयपछि सडक सञ्चालन हुन्छ ।”

बिपी राजमार्ग अवरुद्ध हुँदा बिपी मार्ग हुँदै पूर्व जाने साना यातायात साधनले यही मार्गलाई प्रयोग गर्दै आएका थिए । काठमाडौंबाट दोलालघाट, मुढे, चरिकोट हुँदै मन्थली निस्किएका सवारी साधन रामेछाप र सिन्धुलीको सिमानामा पर्ने सुनकोसी नदीको सित्खाबाट पुल तरेर बिपी मार्ग र मध्य पहाडी मार्ग हुँदै पूर्व जाने गरेका छन् ।

असोज १० गतेदेखि तीन दिनसम्मको भीषण वर्षाको कारण बिपी राजमार्ग क्षतविक्षत भएको छ । रामेछापलाई बिपी मार्गसँग जोड्ने खैरेनी घाट र खुर्कोटको पक्की पुल पनि बगाएको छ । चरिकोट–मन्थली सडकको पनि दोलखाको किर्नेटारमा ४०० मिटर तामाकोशी नदीले सडक कटान गरेको थियो । सो ठाउँमा खिम्ती जलविद्युत आयोजनको आवास क्षेत्रबाट बाइपास सडक सञ्चालन गरिएको थियो ।