संविधान दिवसका अवसरमा मन्थली अस्पताल र मन्थली माविबिच मैत्रीपूर्ण भलिबल

  • प्रकाशित मिति: सोमबार, भाद्र ३१ २०८१
  • तामाकोशी

रामेछाप । संविधान दिवस २०८१ का अवसरमा रामेछाप सदरमुकाम मन्थलीमा सोमबार मन्थली अस्पताल र मन्थली माविबिच मैत्रीपूर्ण महिला भलिबल भएको छ । रामेछाप जिल्ला खेलकुद विकास समिति, मन्थली नगरपालिका वडा नं १, मन्थली अस्पताल र रामेछाप जिल्ला भलिबल सङ्घको प्राविधिक तथा आर्थिक सहयोगमा संविधान दिवस मूल समारोह समिति रामेछापले मैत्रीपूर्ण खेलको आयोजना गरेको हो ।
मन्थली अस्पतालका महिला कर्मचारी र मन्थली माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत छात्राहरूबिच भएको खेलमा मन्थली अस्पतालले दुई एकको सेटमा मन्थली माविलाई हराएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति रामेछापकी प्रमुख एव संविधान दिवस मूल समारोह समिति रामेछापकी संयोजक चिना खड्काले दशौँ संविधान दिवस २०८१ लाई भव्य र सव्य रूपमा मनाउने क्रममा रामेछापमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको बताउनुभयो ।
सोही योजना अनुसार मन्थली अस्पताल र मन्थली मावि बिच मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महत, मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत, महाशाखा प्रमुख हेमन्त बुढाथोकी, मन्थली नगरपालिका–१ का वडा अध्यक्ष होमप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो । दशौँ संविधान दिवस २०८१ को अवसरमा सोमबार बिहान पनि जिल्ला समन्वय समितिको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।