वर्तमान सरकारले जनतामा आशा जगाएको छ : मन्त्री ठकुरी

  • प्रकाशित मिति: शनिबार, भाद्र २९ २०८१
  • तामाकोशी

रामेछाप । बागमती प्रदेका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले वर्तमान सरकाले आम जनतामा आशा जगाएको बताउनुभएको छ ।

शनिवार रामेछाप सदरमुकाम मन्थलीमा गन्तव्य टुँडे राष्ट्रिय दैनिक पत्रिकाको ८ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको वर्तमान सरकार स्थिर रहने र यसले राम्रो काम गर्ने आम जनतामा आशा जगाएको बताउनुभयो ।
उहाँले भन्नुभयो“नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनेको अहिलेको सरकार लामो समय जान्छ भन्ने आम नागरिकले विश्वास लिएका छन् । यो सरकारले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकास गर्न सक्छ भन्ने आम जनतामा आशा पलाएको छ । अहिले प्रदेश सरकारको मुख्यमन्त्री, मन्त्रीहरूको आगामी दुई वटा बजेट निर्माण तथा कार्यान्वयन गरी जनताको चाहना अनुसारको काम गर्ने चाहना छ ।”
प्रदेशभर पर्यटकीय विकासका सम्भावनाहरूको खोजी गरी त्यसको विकासका निमित्त प्रदेश सरकारले काम गर्ने उहाँले बताउनुभयो । रामेछाप जिल्लामा रहेका पर्यटकीय विकासको सम्भावना बोकेका धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलहरूको पहिचान गरी पूर्वाधार विकासका लागि प्रदेश सरकारले काम गर्ने उहाँले बताउनुभयो ।



उहाँले भन्नुभयो “रामेछाप जिल्ला पर्यटकीय विकासका लागि प्रचुर सम्भावना बोकेको जिल्ला हो । यहाँ सम्भावना बोकेका धार्मिक तथा सांस्कृतिक सम्पदाहरू धेरै छन् । तिनीहरूको पहिचान गरी आवश्यक पूर्वाधार विकासमा प्रदेश सरकारले सकेको सहयोग गर्छ ।”
चालु आर्थिक वर्षको बजेट यस अघिकै सरकारले ल्याएका कारण यो वर्ष रामेछापका नागरिकको माग अनुसारको बजेट पठाउन नसकिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो“चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि यसअघिकै सरकारले बजेट ल्याइसकेको परिस्थिति छ । त्यसैले अहिले मन्त्रीहरूले बजेट विनियोजन गर्न सक्ने अवस्था छैन । अब फेरी यो दसैँ पछाडि पूरक बजेट आउन सक्ने अवस्था छ । त्यस्तो भयो भने केही भने पनि सम्बोधन गर्न सकिन्छ ।” हिजो विनियोजन भइसकेको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने वर्तमान मन्त्रीहरूको जिम्मेवारी रहेको उहाँले बताउनुभयो ।