रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेक खर्कमा पहिरोमा परी बेपत्ता भएका मध्ये थप एक जनाको शव भेटिएको छ । नेपाली सेना ,नेपाल प्रहरी ,र सशस्त्र प्रहरी बल नेपाल र स्थानीयले संयुक्त रूपमा खोजी गर्ने क्रममा सोमबार दिउँसो १२ः१५ बजेको समयमा लेक खर्ककी ७५ बर्सिया पुड्की पहरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
पहिरोले घर बगाउँदा बेपत्ता भएका ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र २० वर्षकी विनीता पहरीको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो । गत शनिवार रातिको अविरल वर्षापछि दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेक खर्कको पहरी बस्ती बगाउँदा ११ जना पहिरोमा पुरिएका थिए । जसमध्ये आइतबार बिहान एक जनाको जीवितै उद्धार गरिएको थियो भने ६ जनाको शव निकालिएको थियो । आइतबार ३२ वर्षकी चण्डिका थापा मगर र उहाँका १८ महिनाका छोरा आयुष श्रेष्ठ , ५७ वर्षीय उर्मिला पहरी, ३० वर्षका सन्दीप पहरी, ११ वर्षका सन्तोष पहरी र ११ वर्षका विज्ञान पहरीको शव निकालिएको थियो ।
दोरम्बा पहिरो अपडेटः बेपत्ता ४ मध्ये एक जनाको शव भेटियो
- प्रकाशित मिति: सोमबार, भाद्र १० २०८१
- तामाकोशी