रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा हराएका मध्ये २ जनाको सव भेटिएको छ ।
एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । अविरल वर्षापछि गयराति ११ः४५ बजेको समयमा गाउँभन्दा माथिबाट आएको पहिरोले लेखखर्कका ४ घर बगाउँदा हराएका ११ जनामध्ये दुई जनाको लास भेटिएको, एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको र ८ जना अझै हराइरहेकाले खोजी भइरहेको दोरम्बा शैलुङ गाउँपालिका–३ का वडा सदस्य तुल प्रसाद कडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म पहिरोले पुरिएका स्थानीय भिमबादुर थापामगरको घरमा रहेका ३ जना मध्ये एक जनाको जीवितै उद्धार गरिएको छ । सो घरमा रहेका भिमबहादुरकी छोरी चण्डीका थापामगर र उनका नाबालक छोराको लास निकालिएको छ । चण्डीका स्थानीय एक आधारभूत विद्यालयका शिक्षिका हुन् ।
बेपत्ता भनिएका ८ जना मध्ये स्थानीय उर्मिला पहरीको घरमा रहेका ४ जना , काले पहरीको घरमा बसेका ३ जना र एक घरमा रहेकी एक महिलाको खोजिकार्य जारी रहेको वडा सदस्य कडेलले बताउनुभयो । बाढीले दोरम्बा शैलुङ गाउँपालिकाको विभिन्न स्थानका तीन वटा पक्की पुल बगाएको छ । गाउँपालिकाको ढोही खोलाको पक्की पुल, घट्टे खोलाको पक्की पुल र छाङ खोलामा बनेका हिमपाइप बगाएको स्थानीयले बताएका छन् ।