रामेछापको गागल भदौरेमा दलित सशक्तीकरण तथा कानुनी सचेतना तालिम सम्पन्न

  • प्रकाशित मिति: शुक्रबार, असार ८ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–८ गागल भदौरेमा दुई दिने दलित सशक्तीकरण तथा कानुनी सचेतना तालिम सम्पन्न भएको छ । तालिम वडा कार्यालयको आयोजनामा बिहीबार र शुक्रवार दुई दिन सञ्चालन भएको हो । तालिमको शुक्रवार वडा नं ८ गागल भदौरेका वडा सदस्य खड्गबहादुर कार्कीको अध्यक्षतामा समापन गरिएको छ ।
सोही वडाका २४ जना अगुवा दलित समुदायका नागरिकहरूको सहभागिता रहेको तालिममा अधिवक्ता प्रकाश नेपालीले नेपालको संविधानमा उल्लेख भएका दलितका हक अधिकारका र कानुनी व्यवस्था¸ जातीय छुवाछुत र विभेद सम्बन्धी कानुन र कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै दलित अधिकार कर्मी राकेश दर्नालले दलित समुदायका नागरिकलाई सचेतना मूलक सहित सिप मूलक कार्यक्रममा पनि जोड्नु पर्ने बताउनुभयो । हाल दलित समुदायले गरेका पेसा अन्य समुदायका नागरिकले पनि गर्दै आएको बताउँदै दलित समुदायका पेसालाई व्यवसायमा रूपान्तरण गरिनु पर्नेमा उहाँको जोड छ। खाँडादेवी गाउँपालिकाकी कार्यपालिका सदस्य गोमा विकले मानिस आफै सक्षम हुनु पर्ने भन्दै यस्ता सचेतना मूलक कार्यक्रमले क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो । विकले दलितहरूको क्षमता विकास गर्ने यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिन कार्यपालिकाको बैठक पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका अध्यक्ष एवं राष्ट्रिय दलित पत्रकार सङ्घ रामेछापका संस्थापक अध्यक्ष लेख बहादुर विकले संविधानले जातीय विभेदलाई निषेध गरेको लामो समय भइसक्दा पनि अझै हाम्रो समाजमा जातीय विभेदका घटना भइरहेको बताउनुभयो । यसका लागि गाउँ गाउँका तल्लो तहसम्म दलित सशक्तीकरण तथा सचेतनाका कार्यक्रम अत्यावश्यक रहेको बताउनुभयो । उहाँले दलितका मुद्दा तथा कार्यक्रम सम्बोधन गर्न स्थानीय सरकारले खासै चासो नदेखाइरहेको अवस्थामा वडा कार्यालयले गरेको यो कार्यक्रम प्रभावकारी रहेकाले निरन्तरता दिन समेत आग्रह गर्नुभयो । दलितका समस्या तथा जातीय विभेदका घटनका न्यूनीकरण गर्नका लागि वडा स्तर देखिनै लाग्नु पर्नेमा उहाँको जोड छ । यसका लागि दलित जनप्रतिनिधिले सक्रिय भूमिका निर्वाह गर्नु पर्ने उहाँको भनाइ छ । अझै पनि दलित समुदायका नागरिकलाई दलित सिफारिस र थर संशोधन गर्दा समेत झन्झटहरूको सामना गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । कार्यक्रमका अध्यक्ष तथा वडा सदस्य खड्गबहादुर कार्कीले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । दलितहरूको क्षमता विकास र सशक्तीकरणका कार्यक्रमलाई वडा कार्यालयले प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ छ ।