जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा रामेछापमा रक्तदान कार्यक्रम

  • प्रकाशित मिति: सोमबार, जेष्ठ २१ २०८१
  • तामाकोशी

रामेछाप । आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवसका अवसरमा रामेछापमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोगमा राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल रामेछापले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रामेछाप सदरमुकाम मन्थलीमा सोमबार बिहान आयोजित रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेका राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल रामेछापले जनाएको छ । रक्तदान कार्यक्रममा सहभागी भई रगत दिने सबै सहभागीहरूलाई आयोजकले प्रमाणपत्र प्रदान गरेको छ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा सोमबार बिहान ११ बजेदेखि मन्थलीमा जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी साझा सवाल र जबाफदेहिता सहितको अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल रामेछापका अध्यक्ष नवराज विकले जानकारी दिनुभयो । यो कार्यक्रममा छुवाछुतमुक्त समाज निर्माणमा सरोकारवालाको भूमिका र प्रतिबद्धता बारे सरोकारवालासँग छलफल गरिने उहाँले बताउनुभयो । वि.स २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेपछि हरेक वर्ष जेठ २१ लाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउन थालिएको हो । संविधानमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकहरूको व्यवस्था गरिएको छ । लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएका छन् । तर व्यवहारमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको पूर्ण अन्त्य हुन सकेको छैन ।