हराए चौतारा र देउराली, मासिए आहाल अनि पोखरी

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ १८ २०८१
  • तामाकोशी

रामेछाप । २०६४ सालको संविधानसभा निर्वाचनपछि रामेछापको ग्रामीण क्षेत्रमा सडक पूर्वाधार विकासले तीव्रता पायो । यो १६ वर्षको अवधिमा गाउँ गाउँमा सडक खनिए । सडक पूर्वाधारको विकासपछि गाउँ गाउँमा सहज रूपमा यातायातका साधनहरू पुगे । पछिल्लो समय गाउँमा पुगेका सडकहरू कालोपत्रे समेत धमाधम भइरहेका छन् । सडक पूर्वाधारको विकास सँगै गाउँका नागरिकलाई सहर र गाउँ गर्न सहजता सँगै आवश्यक समानहरू ढुवानीमा पनि सहज भएको छ । तर सडक पूर्वाधार विकासपछिको यातायात सेवा र बजार विस्तारसँगै गाउँ घरमा पुर्खाले बनाएका ऐतिहासिक चौतारी, देउराली हराउँदै गएका छन् भने आहाल तथा पोखरीहरू मासिएका छन् ।

‘‘ पुर्खाहरूले ठाउँ ठाउँमा ठुला ठुला आहाल तथा पोखरीहरू बनाएका थिए । त्यो आहालमा वर्षामा परेको पनि जम्मा हुन्थ्यो । यस्ता आहालको पानी गाई बस्तु र वन्य जन्तुले खान्थे । त्यो आहालको आसपास रसिलो पनि हुन्थ्यो । जसका कारण सुख्खा समयमा पनि केही हरियाली देख्न पाइन्थ्यो । अहिले आहाल र पोखरी सबै मासिए ।’’



भरियाले भारी बिसाउने र थकाई मार्ने चौतारी, सती प्रथासँग जोडिएको बाटो हिँड्ने बटुवाहरूले भन्ज्याङ परेका ठाउँमा देवदेवीलाई सम्झन ढुङ्गा चढाउने देउराली र वन्य जन्तु अनि गाई बस्तुलाई पानी खुवाउने आहालहरू मासिएका छन् । अहिले जिल्लाको दुर्गम मानिने ठाउँहरूमा समेत चौतारीहरू केही भेटिए पनि देउराली तथा आहालहरू भने भेटिँदैनन् ।
गाउँमा मोटर बाटो आएपछि गाउँको पहिचान दिने चौतारी, देउराली र आहाल तथा पोखरीहरू मासिएको मन्थली नगरपालिका–९ पुरानागाउँकी ७९ वर्षीया धनमाया श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘‘पहिला पहिला भरियाले भारी बिसाउने, थकाई मार्ने र सुख दुःखका कुरा गर्ने चौतारीहरू ठाउँ ठाउँमा हुन्थे । बाटो हिँड्ने बटुवाले देवी देवतालाई सम्झेर ढुङ्गा, स्याउलाको मुन्टा र फुल चढाउने देउरालीहरू हुन्थे । अब त मोटर बाटो आएपछि चौतारी, देउराली हराएर गए । हामीले नसोचेको ठाउँमा मोटर बाटो बन्यो । मान्छेलाई घर घरमै बस सेवा पुग्यो । मान्छेहरू पैदल हिँड्न छाडे ।’’
गाउँ गाउँमा मोटर बाटो आएपछि पुर्खाहरूले बनाएको आहाल र पोखरीहरू पनि मासिएको उहाँले बताउनुभयो । ‘‘ पुर्खाहरूले ठाउँ ठाउँमा ठुला ठुला आहाल तथा पोखरीहरू बनाएका थिए । त्यो आहालमा वर्षामा परेको पनि जम्मा हुन्थ्यो । यस्ता आहालको पानी गाई बस्तु र वन्य जन्तुले खान्थे । त्यो आहालको आसपास रसिलो पनि हुन्थ्यो । जसका कारण सुख्खा समयमा पनि केही हरियाली देख्न पाइन्थ्यो । अहिले आहाल र पोखरी सबै मासिए ।’’
रामेछाप नगरपालिका–८ बाबियाखर्कका ९१ वर्षका गोविन्द घिमिरे पनि गाउँका आहाल, पोखरी, देउराली, चौतारी मासिएकोमा दुखित हुनुहुन्छ । आफ्नो गाउँको नाम नै आहालको नामबाट आहाले टार बसेको सम्झँदै घिमिरेले भन्नुभयो‘‘पुर्खाहरूले हरेक धारा पँधेरा भन्दा मुनि आहाल र पोखरी बनाएका थिए । वन जङ्गलको बिचमा ठाउँ ठाँउमा आहाल तथा पोखरी बनाएका थिए । अहिले ती सबै मासिए । जसका कारण सुख्खा बढेको छ । जङ्गली जनावरहरुलाई समेत खडेरीमा पानी खान समस्या भएको छ ।’’ गाउँमा रहेको आहालको नामबाट आफ्नो गाउँको नाम आहाले टार बसेको भए पनि अहिले त्यो आहाल पुरेर सामुदायिक भवन बनाउने तयारी भएको उहाँका भनाइ छ । पुर्खाले बनाएका यस्ता ऐतिहासिक चिजहरू यसरी मासिदा दुःख लागेको घिमिरे बताउनुहुन्छ ।
संरक्षणको पर्खाइमा कुखुरे आहाल र नागदह
आहाल, पोखरी र देउरालीबाट नामारण भएका जिल्लामा धेरै ठाउँहरू छन् । तर आहाल र देउराली बाट नामारण भएका ती ठाउँहरूमा रहेका आहाल र देउराली मासिएका छन् । आहाल पुरेर ठुला ठुला खेल मैदानहरू बनाइएको छ ।

रामेछापको लिखुतामाकोशी गाउँपालिका-५ स्थित संरक्षणको पर्खाइमा रहेको नागदह पोखरी

गोरेटो, घोरेटो बाटोहरु नै लोप भएपछि देउराली तथा चौतारीहरू संरक्षणको अभावमा कतै जीर्ण अवस्थामा भेटिन्छन् भने कतै मासिएका छन् । दोरम्बा शैलुङ गाउँपालिका–१ मा ऐतिहासिक कुखुरे आहाल छ । यो आहालबाट यो ठाउँको नाम नै कुखुरे आहाल भएको छ । यो आहाल भने तहिलेसम्म मासिएको छैन । हिउँदमा पानी नभए पनि कुखुरे आहालमा वर्षामा भने पानी भरिन्छ । यो कुखुरे आहाललाई देउराली पनि भन्ने गरिन्छ । यहाँ समय समयमा मेला पनि लाग्ने गरेको छ । यो कुखुरे आहालको छुट्टै महत्त्व रहेको दोरम्बा शैलुङ गाउँपालिका–१ सुर्केका नारायण श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो‘‘यो कुखुरे आहाल जिल्लाकै ऐतिहासिक आहाल तथा पोखरीमा पर्छ । यहाँ बेला बेलामा विशेष मेला पनि लाग्ने गर्छ । पहिला पहिला विभिन्न राजनीतिक पार्टीहरूको ठुला ठुला सभा पनि यहाँ हुने गर्थे । तर अहिले यस्तो ऐतिहासिक ठाउँको संरक्षणमा स्थानीय सरकारको खासै ध्यान जान सकेको छैन ।’’
दोरम्बा शैलुङ गाउँपालिका–२ मा रहेको ऐतिहासिक पोखरी भने मासिएको छ । जिल्लाकै ऐतिहासिक काली पोखरी नामले चिनिने पोखरी मासेर अहिले ठुला खेल मैदान बनाइएको छ । यही पोखरी र अर्को एउटा पोखरीको नामबाट यो ठाउँलाई दोरम्बा भनिएको स्थानीय बत्ताउँछन् । स्थानीयका अनुसार यहाँ रहेका दुई वटा पोखरीलाई द्धोअम्बा बोलिन्थ्यो । पछि त्यही द्धोअम्बा बोल्दा बोल्दै दोरम्बा बन्न गएको स्थानीयको भनाइ छ ।
लिखुतामाकोसी गाउँपालिका–५ मा स्थित नागदह पोखरी छ । यही नागदह पोखरीको नामबाट यो वडालाई समेत नागदह भनिन्छ । लिखुतामाकोसी गाउँपालिकाको मात्रै नभै जिल्लाकै एक ऐतिहासिक पोखरी हो नागदह । तर यो पोखरी संरक्षणमा कसैको ध्यान गएको छैन । गाउँको बिचमा रहेको यो पोखरीमा नाग थान रहेको र यहाँ नाग बस्ने भएकाले यो पोखरीको नाम नागदह बस्न गएको हो । हेर्दा निकै आकर्षक देखिने यो पोखरीको बिचमा दुई वटा ठुला ठुला ढुङ्गा छन् । स्थानीय बुढापाकाका अनुसार पहिला यो पोखरीमा कहिले पनि पानी सुक्दैनथ्यो । पहिला यो पोखरीमा पुस मसान्त र माघे सङ्क्रान्ति दिन ठुलो मेला समेत लाग्ने गर्दथ्यो । जिल्लाकै ऐतिहासिक यो पोखरी संरक्षणका लागि स्थानीय सरकार लगायत सरोकारवाला निकायले चासो नदिएको साबिक नागदह गाविसको अध्यक्ष समेत रहनुभएका स्थानीय आसबहादुर तामाङको गुनासो छ ।