एमाले रामेछाप पालिका अधिवेशनमा जुट्यो

  • प्रकाशित मिति: बुधबार, जेष्ठ १६ २०८१
  • तामाकोशी

रामेछाप । यही जेठ मसान्त भित्र सबै स्थानीय तहको अधिवेशन सक्ने पार्टीको नीति अनुसार नेकपा एमाले रामेछाप अहिले पार्टी वडा र पालिकाको अधिवेशनमा जुटेको छ । हालसम्म जिल्लाका दुई वटा नगरपालिका र ६ वटा गाउँपालिकाको ६४ वडा मध्य अधिकांश वडाका अधिवेशन सकिएको र  अहिले पार्टी पालिका अधिवेशनमा जुटेको एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार आठ वटा पालिका मध्ये उमकुण्ड गाउँपालिका कमिटीले पालिका अधिवेशन सम्पन्न गरिसकेको छ । त्यस्तै लिखु तामाकोशी गाउँपालिकाले जेठ २५ र २६ गते अधिवेशन गर्ने निर्णय गरेको छ । सुनापति र दोरम्बा शैलुङ गाउँपालिकाले जेठ २६ गते अधिवेशन गर्ने  छन् भने खाँडादेवी गाउँपालिकाले जेठ २७ गते अधिवेशनको मिति तोकेको छ । रामेछाप र मन्थली नगरपालिका र गोकुलगंगा गाउँपालिको अधिवेशनको मिति औपचारिक रूपमा घोषणा गरेका छैनन् । रामेछाप नगरपालिकाको अधिवेशन जेठ अन्तिममा गर्ने तयारी भएको रामेछाप नगर कमिटी अध्यक्ष रोशन पाख्रिनले जानकारी दिनुभयो ।  मन्थली नगरपालिकाको जेठ २५ गते गर्ने गरी तयारी गरिएको मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरेले जानकारी दिनुभयो । गोकुलगंगा गाउँपालिकाले जेठको २६ गते अधिवेशन गर्ने तयारी भए पनि औपचारिक निर्णय गर्न बाकी रहेको गोकुलगंगा गाउँपालिका कमिटी अध्यक्ष दीपक कार्कीले बताउनुभयो ।