सबैको साथ, सहयोग र सुझाव लिएर कुशलता पूर्वक जिम्मेवारी पूरा गर्छु : सांसद श्रेष्ठ

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ ८ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापका बागमती प्रदेश सदस्य एवं प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले सबैको साथ सहयोग सुझाव लिएर आफूले पाएको जिम्मेवारी कुशलता पूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
एमाले रामेछापका निवर्तमान अध्यक्ष श्रेष्ठ बागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा चयन भएपछि नेकपा एमाले रामेछापले पार्टी कार्यालय मन्थलीमा मङ्गलवार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले भन्नुभयो ‘‘प्रदेश सभामा मन्त्री परिषद् सँगसँगै संसदीय समितिहरूको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । जुन समितिको नेतृत्व गर्ने अवसर पाएको छु । विशेष गरी उद्योग, पर्यटन, वन वातावरणका क्षेत्रमा रहेका तमाम खालका समस्याहरूको समाधानका निमित्त गर्नुपर्ने पहल कदमी लिनेछु । सबैको साथ,सहयोग र सुझाव लिएर पाएको जिम्मेवारी कुशलता पूर्वक पूरा गर्न प्रतिबद्ध छु ।’’
कानुन निर्माणका लागि आवश्यक कदम चाल्दै सरकारलाई संसद् प्रति र संसद्लाई सरकारप्रति बनाउँदै सिङ्गो सरकारलाई जनताप्रति उत्तरदायी बनाउन आफ्नो भूमिका हुने उहाँले बताउनुभयो । भौतिक पूर्वाधार विकास, कृषि, सहकारी, पर्यटन, उद्योग लगायतका क्षेत्रमा बनेका पुराना ऐन नियमहरूलाई अहिलेको बदलिँदो परिवेश अनुसार संशोधन गरी आवश्यकताका आधारमा नयाँ ऐन नियमहरू बनाएर उद्योग, पर्यटन तथा वातावरण समिति अगाडी बढ्ने उहाँले बताउनुभयो । आम सहमतिका आधारमा समितिहरू गठन गर्ने सहमति अनुसार संसदीय समितिहरू गठन भएकाले सबै समितिहरूको सक्रिय भूमिका रहने उहाँको भनाइ छ । समग्र रामेछाप जिल्लाको विकासका निम्ति पनि आफूले नेतृत्व लिने समेत उहाँले बताउनुभयो ।