रामेछाप । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठन नभएसम्म काँग्रेसले संसद् चल्न नदिने बताउनुभएको छ । शुक्रवार नेपाल प्रेस युनियन रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । सहकारीको रकम ठगी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको पर्याप्त प्रमाण सार्वजनिक भएकोले उहाँमाथि संसदीय छानबिन समिति बन्नुपर्ने काँग्रेसको जोडदार माग रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो ‘‘हामी जिम्मेवार पनि छौँ । गम्भीर पनि छौँ । यसै कारण संसदीय छानबिन समिति बनाउन हामीले एउटा बाटो दिएका हौँ । संसदीय छानबिन समिति बनाउने हाम्रो नयाँ माग पनि होइन। विगतमा पनि प्रमुख प्रतिपक्षले विभिन्न ठुला ठुला काण्डहरूको छानबिन गर्न माग गर्दै संसद् अवरुद्ध गरेकै थिए । त्यसपछि संसदीय छानबिन समिति बनेकै हो । त्यस कारण म यसलाई मूल्य र मान्यताभित्र पछाडि गएर हठबाजी प्रवृत्ति भन्छु ।’’
नेपाली काँग्रेस सरकारको नीति तथा कार्यक्रमलाई असर पार्ने पक्षमा नरहेको उहाँको भनाइ छ । उहाँले विगतमा सदनमा कुर्ची फोर्ने, मान्छेमाथि मान्छे बोकेर घेर्न जाने घटनाहरू भएको भन्दै काँग्रेसले यस्तो चटके पन नदेखाउने बताउनुभयो ।
संसद्मा भइरहेको अवरोध हटाउन अन्तिम बटम लाइन भनेको संसदीय छानबिन समिति नै भएको उहाँले बताउनुभयो । सदनबाट समस्या समाधान नभए नेपाली काँग्रेसले सडक आन्दोलन जस्ता कार्यक्रमलाई व्यापक बनाएर समस्या समाधानको उपायहरू खोज्ने बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी सम्बन्धी छानबिन गर्न संसदीय समिति बनाउने आश्वासन दिएपछि काँग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको बताउनुभयो । संसद्मा प्रस्तुत नीति तथा कार्यक्रम हावादारी, कर्मकाण्डी र परम्परागत भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ‘‘सरकारको नीति तथा कार्यक्रममा महिलाहरूलाई अगाडि बढाउन कार्यक्रम छैन । व्यापार व्यवसाय प्रवर्द्धन गर्ने र निजी क्षेत्र सँगको साझेदारीमा काम गर्ने खालका कार्यक्रम पनि छैन । वैदेशिक रोजगारीमा गएका युवाहरूलाई स्वदेश फर्काउने खालको कार्यक्रमहरू पनि केही छैन ।’’