रामेछाप । रामेछापमा सालिकमा माल्यार्पण गरी मदन–आश्रित स्मृति दिवस मनाइएको छ । मदन–आश्रित स्मृति प्रतिष्ठानको आयोजनामा मन्थलीको मदन–आश्रित स्मृति चोकमा रहेको मदन–आश्रितको सालिकमा बिहीबार बिहान माल्यार्पण गरी उहाँहरूलाई स्मरण गरिएको हो । माल्यार्पण कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य प्रेम तामाङ, गोपाल श्रेष्ठ, गङ्गा कार्की, नेकपा एमाले रामेछापका उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाशकुमार कार्की, मन्थली नगर पार्टी अध्यक्ष रामबाबु घिमिरे लगायत राजनीतिक दलका नेताहरू, नेकपा एमालेका जनसंगठनका नेताहरू, सामाजिक अगुवा, निर्वाचित जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटनामा रहस्यमय निधन भएको दिनको सम्झनामा जेठ ३ गते स्मृति दिवस मनाउने गरिन्छ । उहाँहरूको ०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा परी निधन भएको थियो । सो घटना दुर्घटना हो वा सुनियोजित हत्या हो भन्ने अझै खुल्न सकेको छैन । भण्डारीले मार्क्सवादको नवीन प्रयोग सहित जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्नुभयो । जसले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनवादी क्रान्ति सफल पार्न सकिन्छ भन्ने मार्गदर्शन तयार ग¥यो । सोही मार्गमा अहिले नेपालका सबैजसो कम्युनिष्ट पार्टीहरू अघि बढेका छन् ।

