रामेछाप । रामेछापमा नेकपा एमाले हाँक्ने नयाँ टिम चयन भएको छ । सदरमुकाम सदरमुकाम मन्थली स्थित तीनलाल पार्कमा बुधवार, बिहीबार र शुक्रवार भएको एमाले रामेछापको नवौँ जिल्ला अधिवेशनले पुरुषोत्तम कडरियाको नेतृत्वमा ९० सदस्यीय रामेछाप एमाले हाँक्ने नयाँ टिम बनेको हो । कडरिया अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । एमाले वाग्मती प्रदेश कमिटी सदस्य प्रेमबहादुर तामाङले उम्मेदवारी फिर्ता लिएपछि कडरिया अध्यक्षमा चयन हुनुभएको हो । त्यसै गरी सचिवमा प्रकाश कुमार कार्की सर्वसम्मत चयन हुनुभएको छ । एमाले मन्थली नगर कमिटीका अध्यक्ष रामबाबु घिमिरेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि कार्की सचिवमा सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।
अध्यक्ष र सचिव सर्वसम्मत भए पनि अन्य पदाधिकारी तथा सदस्यहरूमा भने निर्वाचन भएको थियो । निर्वाचनबाट एमाले रामेछापको उपाध्यक्षमा ३१० मत प्राप्त गरी होताराज ढकाल निर्वाचित हुनुभएको छ । उहाँले ध्रुव कुमार कार्की, रमेश कुमार वाग्ले र ज्ञानबहादुर खड्कालाई हराउनुभएको छ । कार्कीले २८७, वाग्लेले ४७ र खड्काले ३१ मत मात्रै पाउनुभएको छ ।
त्यसै गरी उपसचिव पदमा दुई जना प्रतिस्पर्धीलाई हराउँदै मिलन कुमार घिसिङ ५०९ मत सहित निर्वाचित हुनुभएको छ । उहाँको प्रतिद्धन्दीहरु दिनेश सुवेदीले ११८ र राजेन्द्र कुमार कार्कीले ४८ मत प्राप्त गर्नुभएको छ । त्यसै गरी महिला उपसचिवमा तीन जनालाई हराउँदै मखमली श्रेष्ठ ४४० मत सहित निर्वाचित हुनुभएको छ । श्रेष्ठको प्रतिद्धन्दीहरु कमला शर्मा क्षेत्रीले ७८, अनिता तामाङ राईले ८० र मञ्जु माया कार्कीले ७७ मत प्राप्त गर्नुभएको छ । एमाले रामेछापको नेतृत्व चयन गर्न ७०० जना मतदाता कायम भएकोमा ६७६ जनाले मत हालेका थिए ।
एमाले रामेछाप जिल्ला निर्वाचन कमिटीका अध्यक्ष नवराज पथिकका अनुसार नवौँ जिल्ला अधिवेशनले सर्वसम्मत र निर्वाचन मार्फत अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव दुई जना मध्ये एक जना महिला अनिवार्य हुने गरी पाँच जना पदाधिकारी सहित ९० सदस्यीय जिल्ल कमिटी चयन गरेको छ । उहाँका अनुसार खुलातर्फ तीन जना महिला, दुई जना युवा सहित १० जना, विशेष समावेशीतर्फ तीन जना महिला, दुई जना युवा र चार जना खुला गरी ९ जना चयन भएका छन् । यसमा दलित तर्फ एक जना महिला, एक युवा, एक खुला गरी तीन जना, जनजातितर्फ एक महिला, एक युवा, एक खुला गरी तीन जना, अपाङ्ग एक जना, अल्पसङ्ख्यक एक महिला र एक खुला गरी दुई जना निर्वाचित भएका छन् । दुई नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापमा भूगोलतर्फबाट ६६ जना जिल्ला कमिटी सदस्यमा चयन भएका छन् ।
कसको मत कति ? हेर्नुहोस्
