रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला अदालत रामेछाप र उच्च अदालत पाटनको फैसलापछि फरार भएका प्रतिवादी गोकुलगंगा गाउँपालिका–३ का साँगा झाँक्री भनेर चिनिने साङ तेन्जी शेर्पालाई बुधवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएको शेर्पालाई अदालतमा दाखिला गरी रामेछाप जिल्ला अदालतको आदेश पछि बिहीबार कारागार कार्यालय रामेछापमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीप सिंहले बताउनुभयो । उहाँका अनुसार फैसला कार्यान्वयन गर्ने सिलसिलामा गोप्य सूचनाको आधारमा शेर्पालाई वैशाख १९ गते बुधवार बिहान ८ बजे गोकुलगंगा गाउँपालिका वडा नं.३ स्थित गाउँघरमा घुमफिर गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
शेर्पाले २०७७ पुस २५ गते दिउँसो १ बजेको समयमा गोकुलगंगा गाउँपालिका वडा नं. ३ रस्नालुका वर्ष ५३ का मेरमान वि.क.लाई साङ्घातिक रूपमा कुटपिट गरी घाइते बनाएका थिए । कुटपिटबाट गम्भीर घाइते विकको काठमाडौँ स्थित टिचिङ अस्पतालमा उपचारका क्रममा २०७७ पुस २९ गते मृत्यु भएको थियो ।
त्यसपछि शेर्पा विरुद्ध कर्तव्य ज्यान मुद्दा चलेको थियो । सो मुद्दामा रामेछाप जिल्ला अदालतले २०७८ असोज १९ गतेको फैसला गर्दै शेर्पालाई दोषी ठहर गरी एक वर्ष कैद, दश हजार रुपैयाँ जरिवाना र दुई सय रुपैयाँ पीडित राहत कोषमा भराउने फैसला गरेको थियो । त्यसपछि यो मुद्दा उच्च अदालत पाटनमा पुनरावेदन परेको थियो । उच्च अदालत पाटनले यो मुद्दाको २०७९ पुस २४ गते शेर्पालाई दोषी ठहर गर्दै १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।