रामेछाप । गएको चैत महिनाबाट रामेछाप सदरमुकाम मन्थली स्थित मन्थली विमान स्थलबाट लुक्ला उडान भइरहेको छ । मन्थली विमान स्थललाई प्रयोग गरी सीता, तारा र समिट एयरका जहाजहरूले सगरमाथा क्षेत्रको भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई लुक्ला पु¥याउने र ल्याउने गरिरहेका छन् ।
नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थल मार्फत लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरण मन्थलीका वरिष्ठ अधिकृत पूजा थापाका अनुसार अहिले एउटा उडान मार्फत १४ देखि १८ जनासम्म पर्यटक मन्थली विमानस्थलबाट लुक्ला पुगिरहेका छन् । उहाँका अनुसार यो सिजनमा ५० वटा भन्दा बढी मन्थली–लुक्ला उडान भएका छन् ।
अहिले हरेक दिन बिहानै देखि मन्थली विमान स्थल विदेशी पर्यटकले भरिभराउ देखिन्छ । तर बजार क्षेत्रमा भने पर्यटकको आवागमन शून्य छ । विमान स्थल पर्यटकले भरिभराउ भए पनि यसको लाभ रामेछाप बासीले लिन पाएका छैनन् । मन्थली अहिले सगरमाथा क्षेत्रको उडानका लागि ट्रान्जिट बनिरहेको भए पनि मन्थलीवासी र होटेल व्यवसायीले केवल धुवाँ र धुलो मात्रै पाइरहेको रामेछाप होटेल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कवीन्द्र लामाले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘मन्थलीमा सुविधा भएको होटेल छैन भन्ने जस्ता हल्ला चलाइयो । अहिले मन्थलीका होटेलहरूमा दुई सय भन्दा बढी पर्यटक स्तरका कोठाहरू छन् । यहाँका होटेलहरूले विदेशी पर्यटकका लागि आवश्यक सेवा अझै विस्तार गरिरहेका छन् । यसमा होटेल तथा पर्यटन व्यवसायी सङ्घ पनि गम्भीर भएर लागेकै छ ।’’ मन्थली विमानस्थलबाट भइरहेको लुक्ला उडानबाट मन्थली बासीले अपेक्षाकृत लाभ नपाएको गुनासो आएपछि मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले सम्बन्धित सरोकारवालासँग छलफल गर्नुभएको छ । नगरप्रमुख श्रेष्ठले केही दिन अघि पदयात्रा र ट्राभल कम्पनीसँग छलफल गर्नुभएको हो । मन्थली नगरपालिकाले अब चाँडै ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टको प्रतिनिधिलाई पनि राखेर जिल्ला स्थित सरोकारवाला निकायसँग छलफलको तयारी गरेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
मन्थली विमान स्थल विदेशी पर्यटकले भरिभराउ, बजार क्षेत्रमा शून्य
- प्रकाशित मिति: आइतबार, बैशाख २ २०८१
- तामाकोशी