रामेछाप । नयाँ वर्षको २०८१ को अवसर पारेर नेपाल बुलेट हाउसले पर्यटन प्रवर्द्धनका लागि काठमाडौँ–रामेछाप रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल राइडको आयोजना गरेको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न बुलेट हाउसले बुलेट राइडमार्फत काठमाडौँदेखि रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा रहेको चर्चित ताँवे डाँडासम्म बुलेट मोटरसाइकल यात्राको आयोजना गरेको हो । रोयल इनफिल्ड बाइकका राइडरहरुले नेपाल बुलेट हाउसको अगुवाइमा काठमाडौँदेखि ताँवे डाँडा, दोलखाको जिरी हुँदै काठमाडौँ फर्कने रुट तय गरेका छन् । नेपाल बुलेट हाउसका अध्यक्ष रमेश कार्कीले नेपालका उदीयमान पर्यटकीय गन्तव्यको प्रचार गर्न टु ह्विलर यात्रा सुरु गरिएको बताउनुभयो । यात्रामा ‘आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ’ राइड फर नेसन भन्ने नाराका साथ २२ वटा रोयल इन्फिल्ड मोटरसाइकलमा २७ जनाको सहभागी छन् । चैत्र ३० गते शुक्रवार काठमाडौँबाट निस्केको राइडरहरुको टोलीले २०८१ वैशाख १ गते रामेछाप जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका स्थित चर्चित ताँवे डाँडामा विशेष कार्यक्रमका साथ वन भोजको आयोजना गर्नेछ । काठमाडौँबाट राइडरहरुलाई नायक निखिल उप्रेतीले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको छ ।राइडरले आफ्नो बाइकमा नेपालको झन्डा फहराएका छन् । उनीहरू काठमाडौँबाट खुर्कोट हुँदै रामेछापको मन्थलीबाट ताँवे डाँडामा विशेष कार्यक्रममा भाग लिएर दोलखाको जिरीमा जिरी महोत्सवमा सामेल भई वैशाख २ गते काठमाडौँ फर्कने छन् ।
नयाँ वर्षको अवसरमा काठमाडौँ–रामेछाप बुलेट यात्रा, ताँवे डाँडामा वनभोज कार्यक्रम
- प्रकाशित मिति: शुक्रबार, चैत्र ३० २०८०
- तामाकोशी