रामेछाप । रामेछापको मन्थली विमानस्थलबाट भइरहेको लुक्ला उडानबाट मन्थली बासीले अपेक्षाकृत लाभ नपाएको गुनासो गरेपछि नगर प्रमुख लव श्रेष्ठले सम्बन्धित सरोकारवालासँग छलफल सुरु गर्नुभएको छ । हाल सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि रामेछापको मन्थली विमानस्थलबाट उडान भइरहे पनि मन्थलीका होटल व्यवसायीदेखि स्थानीय समेतले लाभ नपाएको गुनासो गर्दै आएका छन् । उनीहरुको गुनासो बोकेर मेयर श्रेष्ठले पदयात्रा र ट्राभल कम्पनीसँग छलफल चलाउनुभएको हो । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोलासँग छलफल गर्दै मेयर श्रेष्ठले मन्थलीमा पर्यटकले बस्न र रमाउन सक्ने गरि होटल सहित पर्यटकीय पूर्वाधार विकास गर्न नगरपालिका तयार रहेको र अहिले पनि पर्यटकीय पूर्वाधार निर्माण भइरहेको जानकारी दिँदै मन्थलीमा सुविधा छैन भन्ने हल्ला सत्य नभएको प्रष्ट पार्नुभएको छ । उहाँले पर्यटकलाई ‘साइड भिजिट’का लागि नजिकका गन्तव्यहरु चिसापानी गढी, तिल्केस्थान गढी, थानापति महादेव मन्दिर, फुलासी चिया बगान जस्ता धेरै सुन्दर गन्तव्यहरु रहेको जानकारी दिँदै ट्रेकिङ कम्पनीहरुले आफ्नो प्याकेजमै यी गन्तव्यसमेत समेट्न आग्रह गर्नुभयो ।
टूर तथा ट्राभल एजेन्टहरुको छाता संस्था नेपाल एसोसियनस अफ टूर एण्ड ट्राभल एजेन्ट (नाट्टा)का अध्यक्ष रमेश थापासँगको छलफलमा पनि मेयर श्रेष्ठले मन्थलीका स्थानीय बासिन्दा र मन्थलीका होटल व्यवसायीहरुले अहिले त्यहाँ भइरहेको पर्यटकीय गतिविधिबाट खास लाभ नपाइरहेको भन्दै मन्थलीमा पर्यटकलाई ‘होल्ड’ गराउन आग्रह गर्नुभयो । उहाँले मन्थली अहिले सगरमाथा क्षेत्रको उडानका लागि ट्रान्जिट बनिरहेको भए पनि मन्थलीबासी र होटल व्यवसायीले केवल धुँवा र धुलो मात्रै पाइरहेको भन्दै मन्थलीको भूमी व्यवसायका लागि प्रयोग हुँदा मन्थली बासीले प्रत्यक्ष लाभ पाउनुपर्ने बताउनुभयो।
भेटमा टानका अध्यक्ष बाँस्तोला र नाट्टाका अध्यक्ष थापाले सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि मन्थलीबाट उडान गर्दा आफूहरुलाई कुनै असहज नरहेको र पर्यटकलाई मन्थलीमै राख्न पाए हुन्थ्यो भन्ने आफूहरुको पनि चाहना रहेको बताउनुभयो । यसका लागि मन्थलीका होटल व्यवसायीहरुले मेन्यूमा एकरुपता कायम गर्नुपर्ने र काठमाडौँमा आएर मार्केटिङ पनि गर्नुपर्ने उहाँहरुको सुुझाव छ । साथै, मन्थली विमानस्थल अब नियमित चल्छ भनेर उक्त विमानस्थलको स्थायित्वका लागि पनि मन्थली नगरपालिकासहित रामेछापका सबै राजनीतिक दलहरुले केन्द्र सरकारसँग पहल गर्नुपर्ने उहाँहरुले सुझाव दिनुभएको छ । छलफलपछि मेयर श्रेष्ठले मन्थलीका होटलमा २ सय बढी पर्यटक स्तरका कोठाहरु रहेको जानकारी दिँदै काठमाडौँमा लुक्ला जान मन्थली जाने पर्यटकलाई मन्थलीकै होटलमा राख्ने व्यवस्थाका लागि मन्थलीका होटलहरुसँग सम्झौता नै गर्न अपिल गर्नुभयो । मेयर श्रेष्ठको यो आग्रहमा टान र नाट्टा दूबैका अध्यक्षले सहमति जनाउँदै मन्थलीमा पर्यटक राख्न कुनै गाह्रो नभएको भन्दै यसका लागि मन्थलीका होटल व्यवसायी समेतको सहभागीतामा एउटा बृहत कार्यक्रम राख्न अनुरोध गर्नुभयो ।
होटल व्यवस्थापन र स्थानीय ट्रेकिङ गाइडको प्रबन्ध मिलाउन पनि आग्रह गरेका छन् । यसका लागि टान र नाट्टाले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)सहित होटल संघसँग समेत सहकार्य गरेर मन्थलीलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । भेटमा स्थानीय उत्पादनको बजारीकरण, स्थानीय परिकारसहितको थाली सेट निर्माण लगायतका सन्दर्भमा पनि कुराकानी भएका छन् । छलफलमा नेकपा एमाले रामेछापका नेता एवम् सामाजिक अगुवा लवहरि बुढाथोकी, अनेरास्ववियुका केन्द्रीय नेता सागरहरि अधिकारी समेतको सहभागीता रहेको थियो।
