रामेछाप । लुक्ला विमानस्थलको मौसम खुलेसँगै चार दिनदेखि रोकिएको रामेछापको मन्थली–लुक्ला उडान सुचारु भएको छ । सोलुखुम्बुको लुक्ला विमानस्थलको मौसम खराब भएपछि गत बुधवारबाट मन्थली–लुक्ला उडान रोकिएको थियो । लुक्ला विमानस्थलको मौसम राम्रो भएपछि आइतबार बिहान ६ बजे देखिनै राम्रो उडान भइरहेको तारा एयर रामेछापका इन्चार्ज प्रवीण सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘लुक्लाको मौसम खुलेपछि बुधवारदेखि रोकिएको मन्थली–लुक्ला उडान सुरु भएको छ । आइतबार बिहान देखिनै सीता, तारा र समिट एयरका जहाजहरूले राम्रो उडान भरिरहेका छन्’’ ।
लुक्ला विमानस्थलमा मौसम खराबी हुँदा चार दिनदेखि रोकिएको मन्थली–लुक्ला उडान आइतबार बिहानै देखि सुचारु भएको नागरिक उड्डयन प्राधिकरण मन्थलीका वरिष्ठ अधिकृत पूजा थापाले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘यो सिजनको उडान सुरु भएको केही दिनमा लुक्ला विमानस्थलको मौसममा खराबी आयो । जसले गर्दा गएको बुधवारदेखि शनिवारसम्म मन्थली–लुक्ला उडान रोकियो । लुक्ला विमानस्थलमा मौसम खुलेपछि आइतबार बिहान देखिनै राम्रो उडान भइरहेको छ ।’’
मौसममा खराबी आएने भने आइतबार ६० वटासम्म उडान हुन्छ वरिष्ठ अधिकृत थापाले भन्नुभयो । उहाँका अनुसार एउटा उडान मार्फत १४ देखि १८ जनासम्म पर्यटक मन्थली विमानस्थलबाट लुक्ला पुगिरहेका छन् । यसअघि लुक्लामा भएको खराब मौसमका कारण सीता, तारा र समिट एयरका जहाज मन्थलीमै विमानस्थलमा ‘होल्डिङ’ भएका थिए । मौसममा आएको खराबीले उडान रोकिएपछि निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नुपर्ने विदेशी पर्यटकलाई वायुसेवा कम्पनीहरूले हेलिकप्टर मार्फत सोलुकै सुर्केसम्म लगेर सडक मार्गबाट सोलुको फाप्लुसम्म पु¥याउने व्यवस्था मिलाएका थिए । मौसम खुलेपछि बिहानैदेखि काठमाडौँबाट सडक मार्ग हुँदै विदेशी पर्यटक मन्थली आउने क्रम बढेको छ । नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म रामेछापको मन्थली विमान स्थल मार्फत लुक्ला पर्यटक लैजाने व्यवस्था गरेको छ ।
मौसम खुलेसँगै चार दिनदेखि रोकिएको मन्थली–लुक्ला उडान सुचारु
- प्रकाशित मिति: आइतबार, चैत्र १८ २०८०
- तामाकोशी