निजामती कर्मचारी सङ्गठन वाग्मती प्रदेशको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम मन्थलीमा सम्पन्न

  • प्रकाशित मिति: शनिबार, चैत्र १७ २०८०
  • तामाकोशी

रामेछाप । नेपाल निजामती कर्मचारी सङ्गठन वाग्मती प्रदेश कार्य समितिको पाँचौँ विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम रामेछाप सदरमुकाम मन्थलीमा शनिवार सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन रामेछापको व्यवस्थापनमा सदरमुकाम मन्थलीको तीनलाल पार्कमा शुक्रवार र शनिवर दुई दिन कार्यक्रम भएको हो । सङ्गठनका बागमती प्रदेशका अध्यक्ष वरुण कुमार शाहको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको नेपाल पेसागत महासङ्घका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज भरतकुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा सङ्गठनका वाग्मती प्रदेश तथा जिल्ला  समिति गरी एक सय जना सहभागीहरूलाई मुख्य प्रशिक्षकका रूपमा नेपाल पेसागत महासङ्घका केन्द्रीय अध्यक्ष पुण्य प्रसाद ढकालले प्रशिक्षण दिनुभएको थियो । त्यसै गरी पेसागत महासङ्घका केन्द्रीय उपाध्यक्ष भवानी दाहालले पनि प्रशिक्षण दिनुभएको थियो । उहाँहरूले सहभागीहरूलाई नेता र नेतृत्व विकास, राजनीति र प्रशासनबिचको अन्तरसम्बन्ध, विश्व ट्रेड युनियनको प्रयोग र अनुभव लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले सङ्घीय निजामती विधेयकको ड्राफ्ट, त्यसमा भएका कमीकमजोरी बारे सङ्गठनले दिएको सुझावहरू लगायतका बारेमा बोल्नुभएको थियो । कार्यक्रमको समापनमा नेकपा एमाले रामेछापका उपसचिव प्रकाश कुमार कार्की, मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेत लगायतका नेताहरूले बोल्नुभएको थियो ।