रामेछाप । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा एमाले तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको बताउनुभएको छ । एमाले रामेछापले मङ्गलवार सदरमुकाम मन्थलीमा आयोजना गरेको वडा तहसम्मका अध्यक्ष र सचिवहरूको कार्यशालालाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले माओवादी केन्द्र वा एकीकृत समाजवादीसँग तत्काल पार्टी एकता नहुने बताउनुभएको हो ।
उहाँले भन्नुभयो ‘‘हिजो हतारमा पार्टी एकता गर्दा समस्या आयो । फेरी हतारमा पार्टी एकता गरेर एमाले पछुताउने पक्षमा छैन । त्यसैले अहिले पार्टी एकता हुन सक्दैन । हामी तत्काल माओवादीसँग पनि पार्टी एकता गर्दैनौँ । माधव नेपालसँग पनि गर्दैनौँ । यो सत्ता समीकरण मात्रै हो ।’’
राजनीतिका सबैभन्दा ठुला गुरु जनता भएको स्पष्ट पार्दै उहाँले पार्टीले जनताका कुरा र तलका समस्या बुझेर मात्रै माथिबाट निर्णय गर्नुपर्ने बताउनुभयो । एमालेलाई रोक्न देशी विदेशी शक्ति लागिरहेको अवस्थामा एमालेको अग्रसरतामा नयाँ सत्ता समीकरण बनेको उहाँले दाबी गर्नुभयो । प्रतिकूलताको लडाइँबाट नेकपा एमाले केही बाहिर निस्किएको उहाँले बताउनुभयो । नेपाली काँग्रेससँग काम गर्न सकिएन भन्ने निष्कर्षमा माओवादी पनि पुगेको कारण अहिलेको सत्ता समीकरण सम्भव भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘अहिलेको समीकरण कम्युनिष्ट पार्टी र देशको लागि अनुकूल भएको छ । देश भरी वामपन्थी जनमत बलियो छ। तथापि कम्युनिष्टहरुले हारिरहेका छन् । वामपन्थी जनमतलाई एक ठाउँमा ल्याउन सकियो भने काँग्रेसलाई पराजित गर्न सकिन्छ ।’’
कम्युनिस्ट फुटेकाले राजावादीले समेत हेप्न लागेका ज्ञवालीले बताउनुभयो । लक्ष, उद्देश्य र सिद्धान्त एउटै भएका कम्युनिस्टहरू अलग अलग भएर लड्दा प्रतिक्रियावादीलाई नै लाभ हुने उहाँले औँल्याउनुभयो । प्रगतिशील र देशभक्तहरूको सक्ता समीकरणको लागि एमालेले मन्त्री पदलाई प्राथमिकतामा नराखेको ज्ञवालीले बताउनुभयो । त्यसैले माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई मागेको मन्त्रालय दिएर भए पनि एमाले सरकारमा गएको ज्ञवालीले प्रष्ट पार्नुभयो । ज्ञवालीले नेपालमा जनवादी क्रान्ति शान्तिपूर्ण तरिकाले जनआन्दोलनबाट सफल भएको बताउनुभयो । अबको रणनीतिक लक्ष र गन्तव्य समाजवाद भएको ज्ञवालीले स्पष्ट पार्नुभयो । ‘अहिले नै समाजवादमा पुग्न सकिँदैन, राजनीतिक रूपमा क्रान्ति भएको छ, तर सामाजिक, आर्थिक र सामाजिक रूपमा क्रान्ति गर्न बाँकी छ’, ज्ञवालीले भन्नुभयो । जनतालाई सचेत र चेतनशील बनाउन कम्युनिस्ट पार्टी आवश्यक रहेको उहाँले बताउनुभयो । कम्युनिस्ट पार्टीले मात्र जनतामा समाजवादको चेत विकास गर्न सक्ने उहाँले बताउनुभयो । जनवादी कार्यक्रम लागु गरेर समाजवादको आधार तयार गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । ‘कम्युनिस्ट पार्टीको सरकार नवीन जनवादी कार्यक्रम लागु गर्न सकिँदैन, यसको लागि जनमत निर्माण आवश्यक छ, जनताको विश्वास जितेर सरकारमा पुगेपछि मात्र जनवादी कार्यक्रम लागु गर्न सकिन्छ’, ज्ञवालीले भन्नुभयो ।
कार्यक्रममा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले पार्टीका सबै तहको बुझाइमा एकरूपताको लागि कार्यशाला आयोजना गरिएको बताउनुभयो । पार्टी काममा धेरै समस्या र चुनौती रहेका बताउँदै श्रेष्ठले ती सबै अलमल हटाएर अघि बढ्न कार्यशालाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा पार्टी जिल्ला कमिटीको तर्फबाट जिल्ला कमिटी सचिव पुरुषोत्तम कँडरियाले अवधारणा पत्र प्रस्तुत गर्नुभएको छ । अवधारणा पत्र माथि सहभागीहरूले समूह छलफल गरी आवश्यक सुझाव समेत दिएका छन् ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज गणेश पहाडी, केन्द्रीय सदस्य गीता कार्की, वाग्मती प्रदेश लेखा आयोग अध्यक्ष श्यामकृष्ण श्रेष्ठ लगायत प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटीका नेताहरू, पालिका कमिटी तथा वडा कमिटीका अध्यक्ष र सचिव, जनसंगठनका अध्यक्ष एवं सचिवहरूको सहभागिता रहेको थियो ।
