रामेछापको ल्याङ्गल्याङ्ग आगोलागि घटना : २६ वटा घर-गोठ जल्यो, ६० वटा बाख्रा, दुई वटा भैँसी र एउटा गोरु मर्‍यो

  • प्रकाशित मिति: बिहिबार, चैत्र १ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापको रामेछाप नगरपालिका–९ ल्याङ्गल्याङ्गको ल्याङ्गल्याङ्ग टार गाउँमा भीषण आगोलागि भएको छ । बिहीबार दिउँसोबाट गाउँ छिरेको आगोलागिबाट मानवीय क्षति नभए पनि धेरै घर गोठ तथा पशु चौपाया क्षति गरेको छ । बिहीबार साँझ साढे ७ बजेसम्म आगोलागि पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको रामेछाप नगरपालिका–९ ल्याङ्गल्याङ्गका वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘गाउँमा लागेको आगोले मानवीय क्षति गरेको छैन । तर १४ वटा घर र १२ वटा भन्दा बढी गोठहरू जलेका छन् । ६० वटा भन्दा बढी बाख्रा, दुई वटा भैँसी र एउटा गोरु जलेर मरेको भन्ने छ । वास्तविक के कति क्षति भयो भन्ने बारेमा अझै भन्न सक्ने अवस्था छैन । गाउँमा फैलिएको आगो अहिले नियन्त्रण आयो भन्दा पनि हुन्छ । केही अलिअलि बाहेक बाकी छ । फेरी त्यही अलि अलि बाकी रहेको आगो बाट फैलन सक्छ ।’’
उहाँका अनुसार स्थानीयले बस्तीको तल बालेको आगो एक्कसी आएको हावाहुरीले बस्तीमा सल्किएको हो । नेपाल प्रहरी, नेपाली सेना, जिल्ला डिभिजन वन कार्यालय, स्थानीय जनप्रतिनिधि तथा स्थानीयहरूले दमकल सहित आगोलागि पूर्ण रूपमा नियन्त्रणमा लिने प्रयास गरिरहेको वडा अध्यक्ष श्रेष्ठको भनाइ छ ।