रामेछाप । देशका सात वटै प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरू रामेछापको मन्थलीमा भेला हुने भएका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल, वाग्मती प्रदेशको चौथो साधारण सभा कार्यक्रममा वाग्मती प्रदेश सहित सात वटै प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरू मन्थली आउने भएका हुन् ।
वाग्मती प्रदेश भ्रमण वर्ष २०२४ लाई सफल बनाउन सहयोग पु¥याउने उद्देश्यले आगामी शनिवार होटल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल, वाग्मती प्रदेशको चौथो साधारण सभा मन्थलीमा हुँदै छ ।
होटल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल, वाग्मती प्रदेशले बिहीबार मन्थलीमा पत्रकार सम्मेलन गरी शनिवार हुने सङ्घको चौथो साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
सङ्घका वाग्मती प्रदेश अध्यक्ष दामोदर नेपालले चैत्र ३ गते शनिवार हुने सङ्घको साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । उहाँले वाग्मती प्रदेश भ्रमण वर्ष २०२४ लाई सफल बनाउन र रामेछाप जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रामेछापको मन्थलीमा सङ्घको चौथो साधारण सभा गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘राज्यका तीन वटै निकायमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरू, सरोकारवाला निकाय सिङ्गो वाग्मती प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरू मन्थली आउँछन् । कार्यक्रममा अतिथिका रूपमा आउने सात वटै प्रदेशका व्यवसायीहरूको बिचमा आन्तरिक पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया गछौँ । यसले प्रदेशको पर्यटन विकासमा एउटा इँटा थप्ने विश्वास लिएका छौँ ।’’
साधारण सभा मार्फत नयाँ कार्यसमितिले एक वर्षमा गरेका कामका बारेमा समीक्षा गरी आगामी दिनमा सङ्घबाट गरिने कामका बारेमा योजना निर्माण गर्ने उहाँले बताउनुभयो । कोरोना भाइरस कोभिड–१९ र त्यसपछिको आर्थिक मन्दीका कारण धराशायी बन्दै गएको होटल व्यवसायीको समस्याबारे सरोकारवाला निकायका बिचमा बृहत् छलफल गरी कार्यक्रमबाट निचोड निकालिने समेत उहाँले बताउनुभयो ।होटल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल, रामेछापको सह–आयोजनामा होटल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल वाग्मती प्रदेशको साधारण सभा हुन लागेको हो ।