महाशिवरात्रिमा रामेछापको थानापति महादेव मन्दिरमा भक्तजनको घुइँचो

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन २५ २०८०
  • तामाकोशी

रामेछाप । महाशिवरात्रि पर्वमा रामेछापको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल थानापति महादेव मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । मन्थली नगरपालिका–९ पुरानागाउँ बाहुनचुरा स्थित अग्लो पहाडको टुप्पोमा रहेको यो मन्दिरमा महाशिवरात्रिका दिन शुक्रवार बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो । काठमाडौँको पशुपतिनाथ र हलेसी महादेवपछि नेपालको तेस्रो तथा पूर्वको दोस्रो पशुपतिनाथका रूपमा पुजिने थानापति महादेवको महाशिवरात्रिका धेरै भक्तजनले दर्शन गरेको मन्दिर विकास समितिका अध्यक्ष राजकुमार बोहराले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘यहाँ प्रत्येक वर्षको हरितालिका तीज, ठुलो एकादशी र महाशिवरात्रि जस्ता पर्वहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। यी पर्वहरूमा रामेछाप लगायत सिन्धुली, सर्लाही, महोत्तरी, ओखलढुङ्गा, काभ्रे, दोलखा सहित काठमाडौँ जिल्लाबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् । यो महाशिवरात्रिमा पनि धेरै जिल्लाहरूबाट भक्तजनहरू आउनुभएको छ ।’’
स्थानीयका वृद्ध वृद्धाका अनुसार तीन सय वर्षभन्दा पनि पुरानो थानापति महादेव मन्दिरमा गई पूजा आराधना गरी ठुलो स्वरले वरदान माग्दा मागेको बर पाइने विश्वास छ । वैरा तथा बुढा महादेवको नामले परिचित यस महादेव मन्दिरमा वर माग्दा ठुलो स्वरले माग्नु पर्ने जनविश्वास छ । महादेव मन्दिरमा बस्तु थारो बस्दा ब्याओस् भनेर माग्ने तथा सन्तान नहुनेले सन्तान प्राप्तिको कामना गर्दै बर माग्ने चलन छ । यो महादेवको मन्दिरमा बस्तुको दाम्लो चढाएर त्यही दाम्लोले महादेवस्थान परिसरको ढुङ्गा डोहोर्याएर घरमा ल्याउँदा बस्तुभाउ फस्टाउने विश्वास छ ।
जिल्ला सदरमुकामबाट मन्थली नगरपालिका वडा नं ८ चिसापानी र वडा नं १० चनखु हुँदै जाने सडक मार्ग प्रयोग गरेर थानापति महादेव मन्दिर पुग्न सकिने मन्थली नगरपालिका–९ पुरानागाउँका वडा सदस्य रामबहादुर श्रेष्ठले बताउनुभयो । सडक सञ्जालका कारण विशेष पर्वहरूमा मात्रै नभई दैनिक रूपमा यो मन्दिर दर्शन गर्ने र घुम्नका लागि आउनेको सङ्ख्या बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार मन्दिरको फेदीबाट मन्दिरसम्म जानको लागि आकर्षक सिँढी निर्माण गरिएको छ । मन्दिर जानका लागि सिँढी चढ्ने क्रममा देखिने मनोरम दृश्यले जो कोहीको मन लोभ्याउँछ ।
पहाडको टुप्पोमा रहेको थानापति मन्दिरबाट मनोरम दृश्यावलोकन गर्न सकिन्छ । महादेवको दर्शनसँगै पहाडका नागबेली दृश्यहरूको अवलोकन गर्न पाइन्छ । रामेछाप जिल्लाकै ऐतिहासिक धार्मिक स्थल थानापति महादेव मन्दिर विकासका मन्थली नगरपालिकाले गुरु योजना बनाएर आवश्यक पूर्वाधार विकासको काम गरिरहेको मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले बताउनुभयो ।