रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटमा टिपर दुर्घटना हुँदा चालकको घटना स्थलमै ज्यान गएको छ । शुक्रवार बिहान ११ बजे मन्थली सेलेघाट सडक खण्डको सेलेघाट तर्फबाट आउँदै गरेको बा २ क ४५०७ नम्बरको टिपर सेलेघाट स्थित थापा पधेरोमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा कार्यरत रोमन कन्स्ट्रक्सन टिपर चालक महोत्तरी जिल्ला बर्दिबास नगरपालिका–५ का ५० वर्षीय जयबहादुर माझीको घटना स्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईँले बताउनुभयो । उहाँका अनुसार टिपर सडकबाट अन्दाजी १०० मिटर तल खरपाखोमा खसेको छ ।यो सँगै रामेछापमा चालु आर्थिक वर्षको हालसम्म सडक दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या ५ जना पुगेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि माघ महिनासम्म भएका १९ वटा सडक दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् । यहीँ फागुन १ गते रामेछाप नगरपालिकास्थित ल्याङल्याङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो भने शुक्रवार(आज) टिपर दुर्घटनामा परी एक जनाले ज्यान गएका छन् ।
रामेछापको सेलेघाटमा टिपर दुर्घटना हुँदा सुनकोशी–मरिण डाइभर्सनमा कार्यरत चालकको मृत्यु
- प्रकाशित मिति: शुक्रबार, फाल्गुन ४ २०८०
- तामाकोशी