रामेछाप । रामेछापमा ७ महिनाको अवधिमा भएको सवारी दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि माघ महिनासम्म भएको १९ वटा सवारी दुर्घटनामा परी ३ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईँले बताउनुभयो । दुर्घटनामा परी ज्यान गुमाउनेमा दुई जना पुरुष र एक जना बालक छन् । यो अवधिमा भएका सवारी दुर्घटनामा ३५ जना घाइते भएको उहाँको भनाइ छ । रामेछापमा गत आर्थिक वर्ष २०७९÷०८० मा ३५ वटा सडक दुर्घटनामा परी १३ जनाले ज्याज गुमाएका थिए ।
४५ लाख ६३ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन
७ महिनाको अवधिमा जिल्लामा ट्राफिक नियम विपरीत सञ्चालन भएका ४ हजार ९ सय बढी सवारी साधन कारबाहीमा परेका छन् । साना तथा ठुला गरी चार हजार ९८५ सवारी कारबाहीबाट ४५ लाख ६३ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख चौलागाईँले बताउनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ३८५ सवारी साधन कारबाहीबाट तीन लाख ७१ हजार ५००, भदौ महिनामा ५५० वटा सवारी कारबाहीबाट पाँच लाख ६ हजार ५०० रुपैयाँ र असोज महिनामा ७५० वटा सवारी कारबाहीबाट ७ लाख ९ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । त्यसै गरी कार्तिक महिनामा एक हजार ५० सवारी कारबाहीबाट १० लाख १६ हजार ५०० रुपैयाँ र मङ्सिर महिनामा ७०० सवारी कारबाहीबाट ६ लाख ४५ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन भएको छ । त्यस्तै पौष महिनामा ८०० सवारी कारबाहीबाट ६ लाख ८९ हजार ५०० रुपैयाँ र माघ महिनामा ७५० सवारी कारबाहीबाट ६ लाख २५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।