दोलखा । नेकपा एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । बिहीबार सम्पन्न १०औँ जिल्ला अधिवेशनको निर्वाचन परिणाममा प्रतिस्पर्धी ईश्वरचन्द्र पोखरेल र भरत दुलाललाई पराजित गर्दै श्रेष्ठ अध्यक्षमा विजयी हुनुभएको हो । श्रेष्ठले ३ सय ३३ मत प्राप्त गरी बिजयको झन्डा फहराउनु भएको हो । उहाँले निकटतम प्रतिद्वन्द्वी ईश्वरचन्द्र पोखरेलाई ९५ मतान्तरका साथ पराजित गर्नुभएको छ । पोखरेलले २ सय ३८ मत पाउनु भएको छ । यस्तै अर्का उम्मेदवार भरत दुलालले ३८ मत मात्रै पाउनु भएको छ । विजयी श्रेष्ठ ९औँ अधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित हुनुभएको थियो । यस पटक पनि पुनः निर्वाचित हुनुभएको हो । यसै गरी उपाध्यक्षमा राजेन्द्र मानन्धर विजयी हुनुभएको छ । मानन्धर ३ सय ३६ मतसहित विजयी हुनुभएको हो । मानन्धरले प्रतिस्पर्धी हिरा थोकरलाई ७३ मतान्तरले पराजित गर्नुभएको छ । उपाध्यक्षका अर्का उम्मेदवार थोकरले २ सय ६३ मत पाउनु भएको छ । नवौँ अधिवेशनमा पत्रकारिता क्षेत्र त्यागेर एमालेको जिल्ला उपाध्यक्ष भई सक्रिय राजनीतिमा लाग्नुभएका मानन्धर दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । यस्तै, एमाले दोलखाको सचिवमा स्वयमवहादुर खड्का विजयी हुनुभएको छ । गौरीशङ्कर गाउँपालिकाका संस्थापक अध्यक्ष खड्का ३ सय ४ मत प्राप्त गरी विजयी हुनुभएको हो । खडकाले प्रतिस्पर्धी कृष्ण बस्नेतलाई २० मतले पराजित गर्नुभयो । यस्तै उपसचिवमा हरि ओली र कमला बस्नेत निर्वाचित हुनुभएको छ । पदाधिकारीमा निर्वाचित उपसचिव ओलीबाहेक सबै अध्यक्ष श्रेष्ठ प्यानलबाट चुनावी प्रतिस्पर्धामा भाग लिएका नेता हुनुहुन्छ । अध्यक्ष श्रेष्ठ एमाले पोलिटब्युरो सदस्य तथा पूर्व सञ्चार मन्त्री पार्वत गुरुङको निकट हुनुहुन्छ । यस्तै अध्यक्षमा पराजित पोखरेल अर्का पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेल निकट हुनुहुन्छ । दुवै नेताको समूहमा नपरेका भरत दुलालले निर्वाचनमा निकै थोरै मत पाउनु भएको छ । उहाँ प्यानलविहीन रूपमा चुनावी प्रतिस्पर्धामा उत्रनुभएको थियो ।
एमाले दोलखाको अध्यक्षमा पुनः नरबहादुर श्रेष्ठ निर्वाचित, उपाध्यक्षमा मानन्धर र सचिवमा खड्का निर्वाचित
- प्रकाशित मिति: बिहिबार, माघ २५ २०८०
- तामाकोशी