रामेछाप । आफ्नो आयोजनामा भएको ‘वृहत् रामेछाप महोत्सव २०८०’ मा राष्ट्रिय दलित पत्रकार सङ्घ जिल्ला शाखा रामेछापका अध्यक्षमाथि भएको अभद्र व्यवहारको घटनाप्रति रामेछाप उद्योग वाणिज्य सङ्घले क्षमा याचना गरेको छ ।
रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा गत पुस २६ गतेदेखि सुरु भएको ‘वृहत् रामेछाप महोत्सव २०८०’ सञ्चालन सत्रकै क्रममा महोत्सवमा फोटो तथा भिडियो खिच्न मञ्चमा पुगेका राष्ट्रिय दलित पत्रकार सङ्घ जिल्ला शाखा रामेछापका अध्यक्ष लेख बहादुर वि.क.माथि गत माघ ३ गते एक स्वयं सेवकले अभद्र व्यवहार गरेका थिए । त्यस लगत्तै गत माघ ६ गते राष्ट्रिय दलित पत्रकार सङ्घ जिल्ला शाखा रामेछापको तर्फबाट आयोजकको ध्यानाकर्षणसहित प्रेस विज्ञप्ति जारी भएको थियो । तर आयोजकले घटनाबारे कुनै चासो नदेखाएपछि अध्यक्ष वि.क.ले यही माघ १६ गते जिल्ला प्रशासन कार्यालय रामेछाप पुगेर सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालासमक्ष रामेछाप उद्योग वाणिज्य सङ्घको विरुद्धमा उजुरी दिएका थिए ।
त्यसपछि जिल्ला प्रशासन कार्यालय रामेछापले दुवै पक्षलाई बोलाएर आज छलफल गराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाको संयोजनमा भएको छलफलमा सहभागी रामेछाप उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले सङ्घको तर्फबाट भूलवश हुन गएको त्रुटिप्रति क्षमा याचना गर्दै माफी मागेका हुन् । सङ्घको तर्फबाट गल्तीको महसुस गर्ने सम्मको काम भएपछि अध्यक्ष वि.क.ले पनि आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउन सुझाउँदै मिल्ने कुरामा सहमति जनाएका थिए । छलफलमा जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेल, उद्योग वाणिज्य सङ्घका तर्फबाट वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठ, उपाध्यक्ष आकाश रिजाल, महासचिव कुमार श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य नवराज पथिक, प्रेस चौतारी नेपाल जिल्ला जिल्ला कमिटी रामेछापका इन्चार्ज युनिक विफा घिसिङ र राष्ट्रिय दलित पत्रकार सङ्घ जिल्ल शाखा रामेछापका उपाध्यक्ष नवराज विश्वकर्मा र जातीय उत्पीडित मुक्ति समाजका प्रतिनिधि नीलहरि रम्तेल लगायतको सहभागिता रहेको थियो ।
वृहत् रामेछाप महोत्सवमा पत्रकार वि.क.माथिको अभद्र व्यवहार प्रकरण : प्रशासनले गराएको छलफलमा आयोजकले माग्यो माफी
- प्रकाशित मिति: बिहिबार, माघ १८ २०८०
- तामाकोशी