रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिकसम्ममा २०.८६ प्रतिशत मात्र वित्तिय प्रगति भएको छ । पालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवद्यिसम्म सञ्चालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्थाको बारेमा सञ्चालित सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरको तर्फबाट योजना तथा अनुगमन अधिकृत होम बहादुर थापाले प्रगति प्रतिबेदन प्रस्तुति मार्फत सो कुरा जानकारी गराउनु भएको हो । वार्षिक योजना तथा कार्यक्रममा रहेकोमा हालसम्म पुँजीगत तर्फ ७.१४ प्रतिशत र चालुतर्फ २७.६२ प्रतिशत गरी जम्म २०.८६ प्रतिशत वित्तिय प्रगती हाँसिल गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
रामेछाप नगरपालिकामा आ.व. २०८०/८१ मा चालु तर्फ रु ५० करोड ८१ लाख ५३ हजार ९ सय ४५ र पूँजीगत तर्फ रु २५ करोड ५ लाख ५३ हजार ६ सय ९६ गरी जम्मा रु ७५ करोड ८७ लाख ७ हजार ६ सय ४१ रुपैयाको बार्षिक योजना तथा कार्यक्रम रहेको छ । कार्यक्रममा जबाफदेही वक्ताका रूपमा नगरप्रमुख लवश्री न्यौपाने, उपप्रमुख बालाकुमारी कार्की, प्रमुख प्रशासकिय अधिकृत मित्रप्रसाद घिमिरे लगाएत सम्बद्ध वडाअध्यक्षहरु रहनुभएको थियो भने नेकपा एमालेका नगर अध्यक्ष रोशन पाख्रिन, नेपाली काँग्रेसका नगर सचिव शुसिलहरी बख्रेल, नेकपा एकीकृत माओवादीका रामबिष्णु बस्नेत र रास्वपाका दुर्गा बहादुर बस्नेत समेतले समृद्ध नगर निर्माणका लागि विभिन्न सुझावहरु व्यक्त गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सबै जनप्रतिनिधीहरु र शाखागत प्रमुखहरु उपस्थित नहुनु र स्थानीय नागरिकहरुको न्यून सहभागिता हुनुको बारेमा चर्काे आलोचना भएको थियो ।