नवराज वि.क
रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन पुरै अवधि जाने बताउनुभएको छ । बिहीबार रामेछापको सुनापति गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो ‘‘यो गठबन्धन पूरै अवधि जान्छ । यसमा कुनै इफ वट नसोच्नुहोला । गठबन्धनलाई लिएर कुनै आशङ्का गर्न जरुरी पनि छैन ।’’
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सदन सुचारु गर्न र शान्ति प्रक्रियाका बाकी कामहरूलाई सहज रूपमा अगाडी बढाउन सत्तापक्ष र प्रतिपक्षबिच हुनसक्ने जति समझदारी होस भन्ने कुरा गठबन्धने सुरु देखिनै चाहेको बताउनुभयो ।
सोही आशय अनुरूप केही महिना अगाडी सङ्घीय संसद्को संसदीय समितिहरू गठन गर्दा प्रतिपक्षलाई अहिलेसम्म नभएको उदारता गठबन्धनले देखाएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो ‘‘प्रतिपक्षमा भएको दललाई एउटा मात्रै लेखा समितिको संयोजक दिने परम्परा छ । तर हामीले सदन सुचारु गर्न सजिलो होस । विधयकहरु अगाडी बढाउन सजिलो होस् भन्नका लागि यो पटक लेखा सहित तीन वटा समितिको सभापति नेकपा एमालेलाई दिने समझदारी गरियो र दियौँ पनि। तर यसको अर्थ गठबन्धनमा कुनै खालको आँच पु¥याउन होइन र हुन पनि सक्दैन ।’’
यो गठबन्धन सानो सङ्घर्ष र सानो दुःखले बनेको गठबन्धन नभएकाले केही हुन्छ कि ? भन्ने आशङ्का गर्न आवश्यक नरहेको उहाँको भनाइ छ । संविधान र प्रतिनिधिसभाको रक्षाको निमित्त यो गठबन्धन बनेकाले सबै मिलेर यसलाई अन्त्यसम्म लैजानुपर्नेमा उहाँको जोड छ ।
यति बेला केही अराजक प्रवृत्तिका मान्छेहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस गरिरहेको भए पनि अहिले स्थिति यस्तो नरहेकाले त्यो दुस्साहस मात्रै हुने उहाँको भनाइ छ । सरकारले एक वर्षको अवधिमा केही राष्ट्रिय र केही अन्तर्राष्ट्रिय रेकर्डहरू बनाउने गरी काम गरेको उहाँको दाबी छ । ‘देशभित्र सामाजिक न्यायको क्षेत्रमा, लाखौँ गरिब किसानहरू खास गरी तराइ मधेसका जो मिटर ब्याजिहरुबाट पीडित बनेका थिए उनीहरूलाई मुक्त गर्ने गरी ऐनहरू बनाइएको छ, यो नेपालको इतिहासमा पहिलो चोटि यो लेबलमा भएको छ’,उहाँले भन्नुभयो । यो सरकारले एक वर्षमा नेपालको आर्थिक अवस्थामा धेरै सुधार गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘म प्रधानमन्त्री हुँदा नेपाल अब डुब्नै लाग्यो । आर्थिक अवस्था धराशायी भइनै सक्यो , अब एकाध महिनापछि नेपाल ठुलो दुर्घटनामा फस्छ भन्ने आतङ्क नै थियो । तर अहिले एक वर्षलाई हेर्दा ३ महिनालाई पुग्ने मुद्रा सञ्चिति अहिले १३ महिलालाई पुग्ने भएको छ । यो अहिलेसम्मको ऐतिहासिक मुद्रा सञ्चिति हो ।’’अहिले विदेशी विप्रेषण पनि २० प्रतिशतले बढेको र राजश्व पनि बढेको उहाँको भनाइ छ ।
सरकारले प्रतिपक्षलाई अहिलेसम्म नभएको उदारता देखाएको छ : प्रधानमन्त्री प्रचण्ड
- प्रकाशित मिति: बिहिबार, पुष १९ २०८०
- तामाकोशी