रामेछाप । पछिल्लो समय दिनप्रति दिन युवाहरू पढ्न तथा रोजगारीका लागि विदेश जान थालेपछि गाउँ घर सुनसान बन्दै गएको छ । गाउँ सुनसान बनेपछि खेतीयोग्य जमिन लामो समय बाझै बस्दा खण्डहर बनिरहेका छन् ।
गाउँमा भएका बालबालिका गुणस्तरीय शिक्षाका लागि सहर केन्द्रित भइरहेका छन् । अहिले धेरैको रोजाइ विदेश र सहर बजार भएपछि गाउँघरमा उमेर ढल्की सकेका वृद्ध वृद्धा मात्रै भेटिन्छन् । केही वर्ष अघिसम्म बाली नालीले हरियाली देखिने गाउँका खेत तथा बारीहरू अहिले विस्तार बिस्तारै खण्डहर बन्दै गएको छ । गुणस्तरीय शिक्षा र रोजगारीका कारण गाउँ रित्तिँदै गएको बेला रामेछापको रामेछाप नगरपालिका–६ ओख्रेनीका हरिबहादुर तामाङले भने कृषि कर्मबाट गाउँमा नै राम्रो आम्दानी गरिरहनु भएको छ ।
तामाङले २० वर्ष अगाडी नै नेपालमा भविष्य नदेखेपछि बिदेसिने सोच बनाउनुभएको थियो । बिदेसिने सोच बनाउनुभएका तामाङलाई एकाएक आफ्नै माटोमा कृषि कर्म गर्ने रहर जाग्यो । आफ्नै बारीको माटोसँग भविष्य खोज्ने तामाङको त्यही रहर अनि निरन्तरको कर्मले वर्षमा ४० लाख रुपैयाँ कमाइ भइरहेको छ ।
सबै खर्च कटाएर अहिले तामाङले कृषि कर्मबाट वार्षिक २० लाख रुपैयाँ आम्दानी गरिरहनुभएको छ । तामाङले प्रगतिशील कृषि उत्पादन तथा पशु पालन फार्म सञ्चालन गर्नुभएको छ । सोही कृषि फार्म मार्फत उहाँले ३० रोपनी जमिनमा ६०० बोट जुनार र सुन्तला लगाउनुभएको छ । यो सँग सँगै उहाँले तरकारी खेती पनि गर्नुभएको छ । उहाँले बाख्रा र बङगुर पालन पनि गर्नुभएको छ ।
बाख्रा र बङ्गुर पालन, जुनार, टमाटर, काउली खेतीबाट वार्षिक ३५ देखि ४० लाख रुपैयाँ आम्दानी भइरहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘‘वर्षमा १४ लाख रुपैयाँ बराबरको उन्नत जातको बाख्राको पाठा पाठी बिक्री हुन्छ । बङ्गुर पालनबाट पनि वार्षिक ८ देखि १० लाख रुपैयाँको आम्दानी भइरहेको छ । एक वर्षमा जुनार, सुन्तला र तरकारीबाट पनि ८ देखि १० लाख रुपैयाँ आम्दानी हुन्छ ।’’
तामाङ आफ्नो फार्ममा स्थानीय तीन जनालाई रोजगारी प्रदान गर्नुभएको । तीन जना कर्मचारी र आफूले गरेको श्रमको मूल्य कटाएर वार्षिक २० लाख हाराहारीमा कमाइ भइरहेको उहाँले बताउनुभयो । उहाँ २०६० बाट व्यावसायिक कृषि कर्ममा सक्रिय हुनुहुन्छ । खानेपानीको समेत अभाव हुने अति सुख्खा ग्रस्त ओख्रनीमा सिँचाइ ठुलो चुनौती बन्यो । जुनार सुन्तला राम्रो उत्पादन हुने यो ठाउँमा केही वर्ष जुनारमा लाग्ने रोग किराले निराश बनायो । अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ, रामेछापको सहयोगमा जुनारमा लाग्ने ९८ प्रतिशत रोग किरा नियन्त्रणमा आइसकेको छ भने थोपा सिँचाइ प्रविधि प्रयोगमा आएको छ । जसका कारण तामाङको यो वर्ष जुनार उत्पादन बढेको छ । गत वर्ष ४ टन जुनार उत्पादन भएकोमा यो वर्ष २ टन वृद्धि भई ६ टन उत्पादन भएको तामाङले बताउनुभयो । ‘हाम्रो जस्तो सुख्खा ग्रस्त ठाउँमा थोपा सिँचाइ प्रविधि निकै प्रभावकारी बनेको छ, यो सिँचाइ प्रविधिबाट ३० प्रतिशतसम्म कृषि उपजको उत्पादन बढेको छ’, खुसी हुँदै तामाङले भन्नुभयो ।
हरिबहादुर तामाङ जस्तै रामेछाप नगरपालिका–६ ओख्रेनीका धेरै घर परिवारको मुख्य आम्दानीको स्रोत जुनार बनेको छ । अन्य खेतीमा भन्दा जुनार खेतीमा राम्रो आम्दानी हुन थालेपछि यहाँका स्थानीय जुनार खेतीमा थप आकर्षित भएका छन् । रोग किराका कारण केही वर्ष निराश भएका यहाँका जुनार कृषक रोग किरा नियन्त्रणमा आएपछि अहिले फेरी जुनार उत्पादनमा सक्रिय रूपमा रागेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ, रामेछापले ओख्रेनीलाई जुनार जोन बनाएर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । यहाँ उत्पादित जुनार जिल्ला सदरमुकाम मन्थली, सिन्धुलीको सिन्धुली बजार, खुर्काेट, खनियाखर्क, बर्दिबासमा बढी खपत हुने गरेको छ । यहाँ उत्पादित जुनारको जुस देशका ठुला ठुला सहरहरूमा पुग्ने गरेको छ ।
कृषि कर्मबाट वार्षिक २० लाख रुपैयाँ अम्दानी
- प्रकाशित मिति: मंगलबार, मंसिर २६ २०८०
- तामाकोशी