रामेछाप । सुदूरपश्चिमबाट सुरु भएको एमालेको ‘झुला घाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ भोली सोमबार रामेछाप आइपुग्दै छ ।
सङ्कल्प यात्रा आज आइतबार काभ्रेको धुलिखेल आइपुग्दै छ । यात्रा आज काभ्रेको धुलिखेलमा बास बस्ने कार्य तालिका छ । भोलि सोमबार काभ्रेबाट दोलखा हुँदै सङ्कल्प यात्रा’ अपराह्न ४ बजे रामेछाप सदरमुकाम मन्थली आइपुग्नेछ । निकै महत्त्वपूर्ण रूपमा हेरिएको समृद्धिका लागि सङ्कल्प यात्रालाई सफल बनाउन एमाले रामेछापले आवश्यक तयारी पूरा गरिसकेको एमाले रामेछापका सचिव पुरुषोत्तम कडरियाले बताउनुभयो ।
२५ गते अपराह्न मन्थलीको तीनलाल पार्कमा कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने र बेलुका टोली मन्थलीमा नै बास बस्ने उहाँले बताउनुभयो । तीनलाल पार्कमा हुने कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरू वैकुण्ठ महत, अमृत खाती, आशा लामा सहित स्थानीय कलाकारहरूको प्रस्तुति तथा झाँकी प्रदर्शन पनि हुने उहाँको भनाइ छ ।
उहाँका अनुसार समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा मन्थली आएका नेताहरूलाई यहाँका नेता कार्यकर्ताहरूको घरमा बास बस्ने व्यवस्था मिलाइएको छ । सङ्कल्प यात्रामा रामेछाप आएका सबै तहका नेताहरूलाई समृद्ध रामेछाप बनाउन अहिलेसम्म गरिएका काम, यहाँको विकास निर्माणको अवस्था, रामेछापको विकासका लागि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको काम, विकास निर्माणमा देखा परेका समस्याहरूका बारेमा ध्यानाकर्षण गराउने तयारी गरिएको सचिव कडरियाको भनाइ छ ।‘झुला घाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ मध्य पहाडी लोक मार्ग पार गर्दै पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुङ्गिनेछ ।