काँग्रेस रामेछापको महासमिति सदस्य निर्वाचन : ११ सदस्य लागि २१ जनाको उम्मेदवारी, आदिवासी जनजाति महिला र दलित सदस्य निर्विरोध

  • प्रकाशित मिति: आइतबार, मंसिर २४ २०८०
  • तामाकोशी

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागि २१ जना महाधिवेशन प्रतिनिधिहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

रामेछापबाट ११ जना महासमिति सदस्य निर्वाचित हुनु पर्ने भए पनि उम्मेदवारी दर्ता गराउने दिन शनिवार साँझ अन्तिम सम्ममा २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । ११ जना निर्वाचित हुने महासमिति सदस्य मध्ये खुल्ला ५ सदस्य १० जनाको उम्मेदवारी परेको छ ।



जसमा पार्टी सभापति पूर्ण बहादुर तामाङ कान्छाराम, महाधिवेशन प्रतिनिधिहरू रामचन्द्र खड्का, अर्जुन केसी, भरत चौलागाई, युवराज भट्टराई, धुर्बहरी ढुङ्गेल, झपडराज भण्डारी, वीरबहादुर तामाङ, रत्न बहादुर कार्की र गेल्जे शेर्पाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक लक्ष्मण कुमार घिमिरेले बताउनुभयो । त्यसै गरी खुला महिला तर्फ २ जना सदस्य पदको लागि ५ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा महाधिवेशन प्रतिनिधिहरू मिना कार्की, गंगा अधिकारी, विनीता खड्का, उषा कार्की र एन्जिला न्यौपाने रहनुभएको छ । खस आर्य पुरुष एक सदस्य पदका लागी दुई जनाको उम्मेदवारी परेको छ । जसमा महेश कार्की र केशव चालिसे रहनुभएको छ । आदिवासी जनजाति पुरुष एक जना सदस्य पदका लागि नरबहादुर थापामगर र जितेन्द्र मोक्तान गरी दुई जनाको उम्मेदवारी परेको छ । यो समाचार तयार पार्दासम्म उम्मेदवारी दर्ता गराएका कुनै पनि उम्मेदवार विरुद्ध दावी बिरोध नआएको निर्वाचन समितिका संयोजक लक्ष्मण घिमिरेले बताउनुभयो । उहाँका अनुसार आगमी पुष २ गतेसम्म उम्मेदवारी फिर्ताको समय उम्मेदवारहरुलाई प्रदान गरिएको छ ।
आदिवासी जनजाति महिला र दलितमा निर्विरोध
२१ मध्ये समावेशी तर्फ दुई जना भने निर्विरोध निर्वाचित हुने निश्चित भएको छ । एक जना आदिवासी जनजाति महिला महासमिति सदस्य र एक दलित महासमिति सदस्यमा एक÷एक जनाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुने भएका हुन् । जस अनुसार आदिवासी जनजाति महिलामा कुमारी हायु र दलितमा बलबहादुर दमाई निर्विरोध हुने छन् । महासमिति सदस्यको निर्वाचन कार्य तालिका अनुसार मंसिर २३ गते उम्मेदवार दर्ता गराउने, मंसिर २४ गते उम्मेदवारका विरुद्ध दाबी विरोध गर्ने र नाम फिर्ता लिने तालिका रहेको निर्वाचन समितिका संयोजक घिमिरेले बताउनुभयो। घिमिरेका अनुसार मंसिर २४ गते सम्म उम्मेदवारी दर्ता गराउने महाधिवेशन प्रतिनिधिहरूले आफ्नो नाम फिर्ता नलिए र सर्वसम्मतको प्रयास नगरे निर्वाचनको कार्य तालिका अनुसार पौष ६ गते चुनाव हुने छ । महासमिति सदस्यको लागि सर्वसम्मत नभएमा निर्वाचनको लागि करिब एक हजार ४ सय क्षेत्रीय प्रतिनिधिहरू निर्वाचनमा सहभागी हुने छन् ।