जनतासँग एमालेको सम्बन्ध थप बलियो बनाउन समृद्धिको लागि सङ्कल्प यात्रा : आनन्द श्रेष्ठ

  • प्रकाशित मिति: मंगलबार, मंसिर १९ २०८०
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जनतासँग एमालेको सम्बन्ध अझै बलियो बनाउन पार्टीले सुरु गरेको समृद्धिको लागि सङ्कल्प यात्रा महत्त्वपूर्ण हुने बताउनुभएको छ । पार्टीले सुरु गरेको झुला घाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको तयारी गर्न मंगलबार बसेको एमाले रामेछापको बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताउनु भएको हो ।

रामेछाप जिल्ला अभियानलाई सफल बनाउन आवश्यक तयारी गर्न बसेको बैठकको एजेन्डा प्रस्तुत गर्दे अध्यक्ष श्रेष्ठले अभियानको टोली मङ्सिर २५ गते धुलिखेलबाट दोलखा हुँदै मन्थली आइपुग्ने कार्य तालिका रहेको बताउनुभयो । २५ गते अपराह्न मन्थलीको तीनलाल पार्कमा कार्यक्रम राखिएको र बेलुका टोली मन्थलीमा नै बास बस्ने बताउनुभयो । समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा मन्थली आएका नेताहरूलाई यहाँका नेता कार्यकर्ताहरूको घरमा बास बस्ने व्यवस्था मिलाइने पनि उहाँले बताउनुभयो । यसरी नेताहरू स्थानीय स्तरका नेता कार्यकर्ताहरूको घरमा बास बस्दा पार्टी र स्थानीय जनतासँगको सम्बन्ध अझै बलियो हुने उहाँको विश्वास छ । सङ्कल्प यात्रामा रामेछाप आएका सबै तहका नेताहरूलाई समृद्ध रामेछाप बनाउन अहिलेसम्म गरिएका काम, यहाँको विकास निर्माणको अवस्था, रामेछापको विकासका लागि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको काम, विकास निर्माणमा देखा परेका समस्याहरूका बारेमा ध्यानाकर्षण गराउने तयारी गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । तयारी बैठकमा जिल्ला कमिटी, निर्वाचित जनप्रतिनिधि र जनसङ्गठनका अध्यक्षहरूको सहभागिता रहेको छ । बैठकले अभियानको तयारी र व्यवस्थापनको योजना बनाउने छ ।