रामेछाप । नेकपा एमालेले सुरु गरेको झुला घाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको तयारीका लागि नेकपा एमाले रामेछापले पनि बैठक बोलाएको छ ।
रामेछाप जिल्ला अभियानलाई सफल बनाउन आवश्यक तयारीको लागि छलफलका लागि बैठक बोलाइएको नेकपा एमाले रामेछापका सचिव पुरुषोत्तम कँडरियाले जानकारी दिनुभयो । तयारी बैठक मङ्सिर १९ गते बिहान १० बजे मन्थलीको तीनलाल पार्कको हलमा डाकिएको कँडरियाले बताउनुभयो ।
बैठकमा जिल्ला कमिटी, निर्वाचित जनप्रतिनिधि र जनसङ्गठनका अध्यक्षलाई अनिवार्य उपस्थित हुन भनिएको छ । सो बैठकले अभियानको तयारी र व्यवस्थापनको योजना बनाउने छ । अभियानको टोली मङ्सिर २५ गते धुलिखेलबाट दोलखा हुँदै मन्थली आइपुग्ने कार्य तालिका रहेको छ । २५ गते अपराह्न मन्थलीको तीनलाल पार्कमा कार्यक्रम राखिने भएको छ । २५ गते बेलुका टोली मन्थलीमा नै बास बस्ने छ । मन्थलीबाट सिन्धुलीको खुर्कोट, घुर्मी हुँदै अभियान खोटाङ तर्फ अघि बढ्ने छ । रामेछाप सहिद गङ्गालाल र कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मथलो पनि हो । त्यसैले कम्युनिष्टहरुले रामेछापलाई महत्त्वको साथ हेर्ने गर्दछन् ।