बढीमा आधा घण्टा हिँडेपछि कालोपत्रे सडकमा सवारी चढ्ने गरी सडक विकास हुन्छ : सांसद श्रेष्ठ

  • प्रकाशित मिति: शनिबार, कार्तिक २५ २०८०
  • तामाकोशी

रामेछाप । रामेछापका वाग्मती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ(बिगुल) ले रामेछापका जनताको चाहना अनुसार विकासको खाका कोरेर आफू अगाडी बढेको बताउनुभएको छ । तामाकोशी अनलाइनसँग कुरा गर्दै रामेछाप रामेछाप प्रदेश ‘क’ बाट निर्वाचित सांसद श्रेष्ठले आफूले निर्वाचित भएको दुई महिनामै सडक विकासका लागि एक अर्ब रुपैयाँ बजेटको आयोजना स्वीकृत गराएको दाबी गर्नुभयो ।
स्वीकृत भएका २०÷२० करोड बजेटका पाँच वटा सडक आयोजना लगायत अन्य योजनाहरू ल्याएर रामेछाप निर्वाचन क्षेत्र क का सबै नागरिकले कम्तीमा आधा घण्टा हिँडेपछि पक्की कालोपत्रे सडकमा सवारी चढ्न सक्ने गरी सडक पूर्वाधार विकास गर्ने ठोकुवा गर्नुभयो ।
उहाँले भन्नुभयो ‘‘रामेछाप निर्वाचन क्षेत्र ‘क’ का जनताले बढीमा आधा घण्टा हिँडेपछि कालोपत्रे सडकमा यात्रा गर्न सक्ने गरी सडक पूर्वाधार विकास हुदैछ । यसका लागि लिखु खोला बेल्ट, खिम्ती खोला बेल्ट र जिल्ला सदरमुकाम मन्थलीदेखिको बेल्टमा २०÷२० करोड रुपैयाँ बजेटका पाँच वटा सडक आयोजना स्वीकृत भएर टेन्डर आह्वान भइसकेको छ ।’’
आफ्नो कार्यकालमा आफ्नो निर्वाचन क्षेत्रका जनताले सडक पूर्वाधार विकासका सवालमा कुनै प्रश्न नै उठाउन नसक्ने गरी काम गर्ने सांसद श्रेष्ठको भनाइ छ । अहिले वाग्मती प्रदेश सभाको बैठकहरूमा रामेछापका जनताका आवाजहरूलाई बढी भन्दा बढी उठाइरहेको उहाँले बताउनुभयो । यहाँका जनताको समस्यामा आफ्नो सधैँ साथ रहने भएकाले जनताको चाहना अनुसारको काम गरेर जनताको मन जित्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो ‘‘अहिले कसरी हुन्छ जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा आफ्ना लागि मुख्य कुरा हो। यही कुरालाई ध्यानमा राखेर यहाँका जनतासँग हातेमालो गरेर विकासका लागि काम गर्ने सोचले अगाडी बढेको छु ।’’
आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने नाममा विगतमा कृषि र पशु पालनका क्षेत्रमा धेरै बजेटको दुरुपयोग भएको उहाँको भनाई छ । विगतमा भएका कमीकमजोरीलाई अहिलेको सरकारले सच्याउनका लागि कृषि र पशुपालनका क्षेत्रमा अनुदान जस्ता कार्यक्रमलाई कडाइ गरेको उहाँले बताउनुभयो । विगतका सरकारको कमीकमजोरीका कारण रामेछाप जिल्लामा प्रदेश सरकारको धेरै आयोजनाहरू अलपत्र अवस्थामा रहेको उहाँले बताउनुभयो । ‘जिल्ला सदरमुकाम लगायतका ठाउँमा प्रदेश सरकारको करोडौँको आयोजनाहरू अलपत्र छन्, यी आयोजनाहरू पुरा गर्नका लागि अहिले पनि विभिन्न समस्याहरू छन्, समयमै काम सम्पन्न नहुँदा अलत्र परेका यी आयोजनाहरू बारे केही भन्न सक्ने अवस्था छैन’, उहाँले भन्नुभयो ।