रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य रचना खड्काले जिल्ला कमिटी भन्दा माथि पुगेपछि अतिथि भयौँ भन्ने भ्रम पार्टीका नेताहरूले त्याग्नु पर्ने बताउनुभएको छ । खड्काले जिल्ला कमिटीभन्दा माथि पुगेपछि म अतिथि हुँ भन्ने रोगबाट धेरै नेताहरू ग्रसित भएको बताउनुभयो । बुधबार नेकपा एमाले रामेछापले आयोजना गरेको जनसंगठनको संयुक्त बैठकमा बोल्दै खड्काले माथिल्लो कमिटीमा पुग्नु भनेको तलको कामलाई थप प्रभावकारी बनाउने जिम्मेवारी प्राप्त गरियो भन्ने बुझ्न आग्रह गर्नुभयो । माथिल्लो जिम्मेवारीमा हुने पनि अनिवार्य रूपमा भूगोलमा बसेर काम गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । एमालेका नेता कार्यकर्ता जिम्मेवार भएर लाग्ने हो भने एमाले कमजोर नहुने उहाँले प्रष्ट पार्नुभयो । एमाले र जनसंगठनका हरेक नेता कार्यकर्ताले आफ्नो परिभाषित काम गर्नुपर्ने उहाँले बताउनुभयो । पार्टीका जनसंगठनमा काम गर्ने हरेक नेता कार्यकर्ताले म आफ्नो भविष्यको लागि काम गर्नु भन्ने सोचका साथ काममा लाग्नु पर्ने उहाँले बताउनुभयो । अहिले कतै काम नपाएपछि राजनीतिमा लागेको भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै खड्काले केही अपवाद बाहेक हरेक क्षेत्रमा क्षमता राख्ने अब्बल मानिसहरू राजनीतिमा लागेका स्पष्ट पार्नुभयो । राजनीतिमा आज अनेकौँ प्रश्न उठेका बताउँदै खड्काले त्यसलाई चिर्नुपर्ने बताउनुभयो । त्यसलाई चिर्न व्यवहारबाट नै खारिएर निस्कनु पर्नेमा उहाँले जोड दिनुभयो ।
माथिल्लो तहमा पुगेपछि अतिथि भयौँ भन्ने भ्रम नेताहरूले त्याग्नुपर्छ : रचना खड्का
- प्रकाशित मिति: बुधबार, कार्तिक २२ २०८०
- तामाकोशी